भैरहवा, २० फागुन ।
बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका रुपन्देही क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई आज (बिहीबार) सिद्धार्थनगर नगरपालिका वडा नं. ६ स्थित गल्लामण्डीबाट नियन्त्रणमा लिएको हो।
सिद्धार्थनगर नगरपालिका वडा नं. ७, जनकपथ स्थायी ठेगाना भएका ४८ वर्षीय यादवलाई चितवन जिल्ला अदालतको मिति २०८१ फागुन २५ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको थियो। अदालतले उनलाई तिस लाख साँवा रकम तिर्न र बिगो बमोजिमको जरिवाना र कैद सजाय सुनाएको थियो।
अदालतको उक्त फैसला कार्यान्वयनका लागि "प्रतिवादीलाई उपस्थित गराइदिनु" भन्ने आदेशानुसार प्रहरीले आज उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका यादव आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ बाट 'आँप' चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा थिए।
निर्वाचनको मुखमै उम्मेदवार नै पक्राउ परेपछि स्थानीय राजनीतिमा यसले तरंग पैदा गरेको छ।
प्रहरीका अनुसार, पक्राउ परेका यादवलाई फैसला कार्यान्वयनका लागि सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिई । मुद्दा भएपनि उनले उम्मेदवारी दिएका थिए ।