युवाको प्रतिभा उजागर गर्न लुम्बिनी प्रदेशमा 'बेस्ट कन्टेन्ट अवार्ड'

खबर नागरिक

भैरहवा ।  लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको बैठकले युवाहरूलाई डिजिटल माध्यम र सिर्जनशीलतासँग जोड्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रदेशका युवाहरूमा सकारात्मक सोच, नवप्रवर्तन र प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८२-०८३ भित्रै कन्टेन्ट क्रियटर (सामग्री सर्जक) हरूबीच खुला प्रतिस्पर्धा आयोजना गर्ने निर्णय गरेको हो।

प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट सर्जकहरूलाई उत्कृष्ट सामग्री पुरस्कार बेस्ट कन्टेन्ट अवार्ड प्रदान गरिनेछ, जसका लागि मन्त्री पाण्डेयले १० लाख रुपैयाँ बजेट संशोधन गरी तत्काल व्यवस्थापन गर्न र कार्यक्रम अघि बढाउन युवा परिषद्को कार्यालयलाई निर्देशन दिनुभएको छ।

डिजिटल युगमा युवाहरूको क्षमतालाई पहिचान गर्न र उनीहरूलाई प्रदेशको विकासमा रचनात्मक रूपमा जोड्न यो कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै मन्त्री पाण्डेयले लुम्बिनी प्रदेशका सम्पूर्ण कन्टेन्ट क्रियटरहरूका लागि यो एउटा ठूलो अवसर र खुसीको खबर रहेको बताउनुभयो।

बैठककै क्रममा प्रदेश युवा परिषद् विकास समिति गठन आदेश, २०७८ अनुसार रिक्त रहेका सदस्य पदमा पंकज पाठक र मनिषा हरिजनलाई नियुक्त गरिएको छ। नवनियुक्त सदस्यहरूलाई बधाई ज्ञापन गर्दै मन्त्री पाण्डेयले उनीहरूबाट युवाका मुद्दाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न र परिषद्को जिम्मेवारी कुशलतापूर्वक निर्वाह हुने अपेक्षा राख्नुभएको छ।

समग्रमा, प्रदेश सरकारले युवा केन्द्रित नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै सिर्जनशील युवाहरूलाई सम्मान र प्रोत्साहन गर्ने नयाँ पहलको सुरुवात गरेको छ।

प्रतिक्रिया