भैरहवा । रुपन्देहीको क्रिकेटमा सधै अग्रस्थान ओगट्ने लुम्बिनी खुकुरी क्लबले भैरहवामा पहिलो पटक खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।
वि.स. २०२७ मा स्थापना भएको क्ल्बले स्थापना पछि मंगलबारदेखि सुरु हुने प्रतियोगिताबारे क्लबले आइतबार पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको छ । ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ नाम दिइएको प्रतियोगिता अब निरन्तर गर्ने योजनाका साथ भैरहवाको सिद्धार्थ क्रिकेट रंगाशाला हुने भएको हो । रुपन्देहीका ११, जिल्ला बाहिरका २ र भारतका ३ वटा टिमबीच यो प्रतियोगिता नकआउट चरणमा हुने खेल संयोजक नन्दन श्रेष्ठले जानकारी दिए ।
वैशाख ८ देखि १५ गतेसम्म सञचालन हुने प्रतियोगिताका विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन । यस्तै म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक म्याचको उत्कृष्ठ खेलाडीले नगद १ हजार ५ सय पाउने क्लबका अध्यक्ष महेश थापाले जानकारी दिए ।
खेलमा भारतका नौतनवा, गोरखपुर र कोल्हईबाट ३ टिम, भरतपुर र नवलपरासीको २ टिम र रुपन्देही जिल्लाभित्रका ११ टिमले प्रतिस्पर्धा गर्ने छन । क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा ठूलो योग्दान गरि समग्र क्रिकेटको विकासमा उल्लेखनीय योगदान गरेकोले अब खेलमा सहभागी मात्रै नभई खेलको आयोजना पनि गर्ने निर्णयमा पुगेको जसले क्रिकेट विकासमा थप टेवा पुग्ने अध्यक्ष थापाले भने ।
सिद्धार्थनगर नगरपालिका वडा नं. १ को मुख्य प्रयोजनमा भइरहेको खेल अब हरेक वर्ष निरनतर हुने छ । प्रतियोगितामा करिब ११ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । रुपन्देही क्रिकेट संघको प्राविधिक संयोजनमा खेल आइसीसी टि–२० नियमानुसार खेलाइने छ ।