भैरहवा । किराना तथा प्लास्टिक व्यवसायी संघ रुपन्देहीको आयोजनामा नव वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले व्यवसाय, कर नीति र राजनीतिक नैतिकताबारे महत्वपूर्ण धारणा व्यक्त गरे।
मन्त्री पाण्डेयले सीमा व्यवस्थापन केन्द्रीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै नेपालका व्यवसायीहरूले भारतको तुलनामा केही बढी मूल्यमा सामान बिक्री गर्नु स्वाभाविक भए पनि अत्यधिक नाफा लिनु गलत हुने बताए। उनले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार अनिवार्य गर्नुपर्ने विषयमा पनि समर्थन जनाए।
सरकारी नीति र विकासका सन्दर्भमा उनले केवल कर संकलन बढाएर मात्र देश विकास नहुने स्पष्ट पारे।
यसैगरी, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले संघीय सरकार र अघिल्लो सरकारले उद्योगी व्यवसायीको पक्षमा गरेका केही सकारात्मक कदमहरूको समर्थन गरेका छन। उनले २०८० जेठ १४ गते सिद्धार्थ उद्योग वाणिज्य संघमा भएको निर्णय स्मरण गर्दै १०० रुपैयाँभन्दा बढीको सामानमा अनिवार्य भन्सार लागू गर्ने नियमले स्वदेशी बजार संरक्षण र चोरी पैठारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
श्रेष्ठले संस्थागत रूपमा हुने चोरी पैठारीलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी बजेटका लागि उद्योगी व्यवसायीहरूले आफ्ना सुझावहरू सम्बन्धित संघसंस्था मार्फत पेश गर्न आग्रह गरे। ती सुझावहरूलाई प्रदेश महासंघ हुँदै सरकारसम्म पु¥याउने प्रतिबद्धता पनि उहाँले जनाए।
यसैगरी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य र उद्योग व्यापार संगठनका अध्यक्ष सचिन रोक्काले पनि सीमा क्षेत्रमा भइरहेको अव्यवस्थित व्यापार र चोरी पैठारीको समस्या गम्भीर रहेको बताएका छन्। उनीहरूले सीमा नाकामा कडाइका साथ निगरानी बढाउन, अवैध आयात नियन्त्रण गर्न र स्वदेशी व्यवसायलाई संरक्षण गर्ने स्पष्ट नीति ल्याउन सरकारसँग माग गरेका छन्।
उनीहरूले सीमा व्यवस्थापनमा कमजोरी हुँदा वैध व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै निष्पक्ष प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा विभिन्न व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।