भैरहवा । सिद्धार्थनगर सर्वोच्च अदालतले रूपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित डण्डा खोला क्षेत्रमा रहेको डम्पिङ साइटमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले उक्त क्षेत्रमा अनियन्त्रित रूपमा फोहोर फाल्ने कार्य रोक्न र प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चाल्न आदेश दिएको हो।
सिद्धार्थनगर नगरपालिकाले डण्डा खोला किनारमा सञ्चालन गरेको डम्पिङ साइटका कारण दुर्गन्ध र प्रदूषण फैलिएको भन्दै अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अन्जली सिलवालले चैत १६ गते रिट दायर गरेका थिए।
रिटमा प्रधानमन्त्री कार्यालय, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, गृह मन्त्रालय, लुम्बिनी प्रदेश सरकार र सिद्धार्थनगर नगरपालिकालाई विपक्षी बनाइएको थियो।
इजलासले उक्त स्थानमा कुनै पनि प्रकारको फोहोर नफाल्न र फाल्न नलगाउन आदेश जारी गरेको छ। साथै, सो क्षेत्रमा कुनै पनि खाद्य पदार्थ सञ्चय तथा भण्डारण नगर्न समेत भनिएको छ।
अदालतले यो आदेश कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आफ्नो सूचना पाटी र वेबसाइटमार्फत सार्वजनिक सूचना जारी गर्न समेत निर्देशन दिएको छ। निवेदकहरूले फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ११ ९२० विपरीत सञ्चालन भइरहेको यो साइटलाई वैकल्पिक स्थानमा सार्न र उक्त क्षेत्रलाई प्रदूषणमुक्त बनाउन परमादेशको माग गरेका थिए।
डण्डा खोला क्षेत्रमा फोहोरमैलाको अव्यवस्थित विसर्जनले स्थानीयको जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पुर्याएको भन्दै बालबालिकाको हक संरक्षण र उपयुक्त नीति निर्माणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ।
यसअघि चैत १७ गते न्यायाधीश बालकृष्ण ढकालको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। सोही छलफलपछि सर्वोच्चले यो महत्वपूर्ण अन्तरिम आदेश जारी गरेको हो।