साउन पछि चैत्रमा लक्ष्य पार, १०९ प्रतिशत राजश्व उठ्यो

खबर नागरिक

भैरहवा । मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले चैत्र महिनाको लक्ष्य पार गरेको छ ।  यो आर्थिक वर्षको पहिलो महिनामा लक्ष्य भन्दा २ प्रतिशत बढि राजश्व संकलन गरेको भन्सारले अरु महिनामा लक्ष्य पार नगरेपनि चैत्रको लागि पाएको लक्ष्य ९ अर्ब ७३ करोड मध्ये १० अर्ब ६७ करोड राजश्व संकलन गरेको हो । ४ वर्ष देखि वार्षिक लक्ष्य पार गर्न नसकेको भैरहवा भन्सारले भने २०८२–८३ को पहिलो महिनामा पाएको ८ अर्ब ८४ करोड ८५ लाख लक्ष्यमा ९ अर्ब २ करोड ७२ लाख अर्थात १सय २ प्रतिशत राजश्व संकलन गरेको थियो । वर्षेनी बढ्दो लक्ष्य र केही नितिगत कारणले ४ वर्षको अवधिमा एक महिनामा मात्रै राजश्व संकलन लक्ष्य पार भएको थियो । २०७८ पुस ५ गतेबाट लागु भएको अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमि हुदै आएकोमा २०८१ को असोज महिना पछि अहिले २०८२ साउनमा कार्यालयले विभागबाट पाएको लक्ष्य पार भएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका अनुसार सरदर अहिले ९४ प्रतिशत राजश्व असुली भइरहदा पहिलो महिना पछि चैत्रमा लक्ष्य पार भएको छ । गत वर्ष चैत्र महिनामा ८ अर्ब २३ करोड ५२ लाख राजश्व संकलन भएकोमा त्यसको २९ प्रतिशत बढि राजश्व संकलन भएको छ । राजश्व लक्ष्य योगदान गर्नेमा सबै भन्दा बढि मोटरसाइकल, जीपकार भ्यान, पेट्रोल, डबल क्याब पिकअप, विधुत्तीय जीपकार भ्यान,  स्पोन्ज र फेरस आइरन, एम एस विलेट लगायतका बस्तु पैठारी भएका छन ।  

कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८२÷८३ का लागि एक खर्ब १३ अर्ब ६६ करोड ६८ लाख १९ हजार राजस्व संक्लन लक्ष्य दिएकोमा हाल सम्म ७८ अर्ब ४९ करोड राजश्व संकलन भएको भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले बताए । चैत्र मसान्त सम्म भन्सारलाई ८२ अर्ब ७९ करोड लक्ष्य रहेकोमा हाल सम्म ९४ प्रतिशत राजश्व संकलन भएको छ । 

कार्यालय साउनमा १०२ प्रतिशत, भदौमा ९७, असोजमा ९२, कार्तिकमा ८२, मंसिरमा ९३, पुषमा ८२, माघमा ९९ र फागुनमा ९३ प्रतिशत राजश्व संकलन गरेको थियो । राजश्व लक्ष्य पुरा नभएपनि अघिल्लो वर्ष भन्दा बढी राजश्व संकलन कार्यालयले गरेको छ । 

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्य भन्दा १३ प्रतिशत बढि राजश्व संकलन भएपनि त्यसयता यो अनुपात घट्दै गएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ९१ प्रतिशत, २०७९÷८० लक्ष्यको ४९ प्रतिशत, आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यको ६३  प्रतिशत, आर्थिक वर्ष २०८१÷८२ मा लक्ष्यको ८७  प्रतिशत मात्रै राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । राजश्व संकलनमा योगदान दिने मुख्य वस्तुको आयात नै खुम्चिँदा पछिल्ला आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व संलकन गर्न नसकेको हो ।

मधेश आन्दोलन र नाकाबन्दीका बेला सहज मानिएको यो भन्सार नाका राज्यको लागि ठूलो योग्दान गरेको थियो । विस्तारै अन्य नाका सहज हुँदा सामानहरु पनि डाइभर्ट भएको छ । यहाँबाट लक्ष्य पार नहुनुको मुख्य कारण नै बाटोको समस्या रहेको भन्सारको बुझाईछ । आन्दोलन, पूर्वाधार र सडक निर्माण लगायतको कार्यले गर्दा केही अवरोध भएको हो । राजश्वमा मुख्य योगदान दिने बस्तु आयत घट्दा राजस्व लक्ष्य प्रभावित हुने गरेको छ । 

भन्सार विभागले आर्थिक वर्ष २०८२–०८३ मा भने १ खर्ब १३ अर्व ६६ करोड ६८ लाख १९ हजारको लक्ष्य तोकेको छ ।  


प्रतिक्रिया