रुपन्देही । रुपन्देही जिल्लाका विभिन्न स्थानमा नेपाली नक्कली नोटको अवैध कारोबार र ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो सफलता प्राप्त गरेको छ । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले निगरानी र अपरेसनका क्रममा फरक स्थानबाट चार जनालाई नक्कली नोटसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार प्रहरीले गत चैत २२ गते सिद्धार्थनगर नगरपालिका–५, भैरहवा र चैत २६ गते सैनामैना नगरपालिका–१० स्थित भच्कैया क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी पूर्व देवचुली नगरपालिका–१५ का २८ वर्षीय सुजन खनाल (मुक्तिप्रसाद खनाल), सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ का ३५ वर्षीय रोल बहादुर श्रेष्ठ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ का ५३ वर्षीय दीपेन्द्र थापा रहेका छन । प्रहरीले उनीहरूको साथबाट रु १,००० दरका २१ थान नक्कली नेपाली नोट बरामद गरेको छ । बजारमा नक्कली नोटको बिगबिगी बढेको जनगुनासो आएपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको थियो, जसका क्रममा यी व्यक्तिहरू शङ्कास्पद अवस्थामा फेला परेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा यो गिरोहले सिमानाका र मुख्य व्यापारिक केन्द्रहरूलाई लक्षित गरी नक्कली नोट खपाउने योजना बनाएको हुनसक्ने आकलन गरिएको छ । बरामद गरिएका नोटहरूको गुणस्तर र बनावट हेर्दा सर्वसाधारणलाई सहजै झुक्क्याउन सक्ने प्रकृतिका रहेका छन । पक्राउ परेका व्यक्तिहरू कुन उद्देश्यले र कहाँबाट यी नोटहरू ल्याएका हुन् भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । हाल उनीहरूलाई हिरासतमा राखी कानुनी प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले यस्ता अवैध गतिविधि रोक्न र आर्थिक कारोबारमा सुरक्षा सुनिश्चित गर्न नागरिकहरूलाई पनि सचेत रहन आग्रह गरेको छ ।