भैरहवा, फागुन २४ । नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगर कमिटीका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले आफ्नो पदसहित पार्टीको साधारण सदस्यबाट समेत राजिनामा दिएको घोषणा गर्नुभएको छ।
प्रतिनिधि सभा निर्वाचन २०८२ मा रुपन्देही क्षेत्र नं. ५ बाट नेकपा एमालेका उम्मेदवार खिमलाल भट्टराईलाई विजयी गराउन नसकेको नैतिक जिम्मेवारी लिँदै ज्ञवालीले सक्रिय राजनीतिबाटै अलग हुने घोषणा गर्नुभएको हो।
चुनावी अभियानका क्रममा ज्ञवालीले विभिन्न सभा र बैठकहरूमा आफ्ना उम्मेदवार खिमलाल भट्टराईलाई जिताउन नसकेमा नगर अध्यक्ष पद र पार्टीको साधारण सदस्य समेत त्याग गर्ने सार्वजनिक उद्घोष गर्नुभएको थियो। फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएपछि उहाँले जनता र कार्यकर्तामाझ गरेको बाचा अनुरूप यो कठोर निर्णय लिनुभएको बताउनुभयो।
अध्यक्ष ज्ञवालीले राजिनामा वक्तव्यमा लेखेका छन- लुम्बिनी सास्कृतिक नगरपालिकाको सामाजिक,आर्थिक, राजनैतिक सहित समग्र बिकास र सुधारका लागि राज नैतिक रुपमा नै अगाडी बढ्नु पर्ने ठानेर नेकपा एमालेमा आवद्ध भै बिभिन्न कमिटिमा रहि काम गर्दै आएकोमा पछिल्लो समय नेकपा एमाले लुम्बिनी सास्कृतिक नगर कमिटि अध्यक्ष पदमा रहि कार्यरत छु।
यहि अवस्थामा जेनजी आन्दोलन भयो मुलुकको राजनितिले कोल्टे फेर्यो, प्रतिनिधि सभा निर्वाचन घोषणा भै २०८२/११/२१ मा प्रतिनिधि सभा निर्वाचन भयो, यस पालिका समेत रहेको रुपन्देही क्षेत्र न ५ बाट नेकपा एमालेका तर्फबाट बिकास प्रेमी, सालिन र सक्षम, लुम्बिनीलाई एउटा नयाँ दिशा दिन सक्ने भिजनरी नेतृत्व आदरणीय खिमलाल भट्टराई उम्मेदवारका रुपमा पाउँदा हामी अत्यन्तै खुसी भयौं र उहाँलाई बिजय गराउन चुनावी मैदानमा होमियौ। मैले आदरणीय खिमलाल भट्टराई जस्तो सक्षम नेतृत्वलाई जिताउन कुनै कसर बाकी नराखी भुमिका खेल्ने र जिताउन नसके नेकपा एमालेको लु.सा. नगर अध्यक्ष पद सहित पार्टीको साधारण सदस्य समेत नरहने र राज नैतिक जिवनबाटै अलग हुने पटक पटक चुनावी सभा बैठक हरुमा घोषणा गरेको छु।
सम्पुर्ण कोसिसका बावजुद आदरणीय खिमलाल भट्टराई ज्युलाइ बिजय गराउन नसकेकोमा त्यन्तै दु:ख लागेको छ, तथापी राजनितिमा हार हुँदैन भन्ने उहाँको भनाइमा सहमत छु।
यस परिस्थितीमा आफुले जनता सङ्ग गरेको बाचा अनुसार नेकपा एमालेको रुपन्देही क्षेत्र न ५ का उमेदवार आदरणीय खिमलाल भट्टराई ज्युलाई प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा निर्वाचित गराउन नसकेको नैतिक जिम्मेवारी लिदै आज कै मितिबाट नेकपा एमाले लुम्बिनी सास्कृतिक नगर कमिटी अध्यक्ष पदबाट राजिनामा सहित पार्टिको साधारण सदस्य समेत नरहनुका साथै राजनैतिक जिवनबाट अलग भएको घोषणा गर्दछु।
पार्टीको विभिन्न कमिटिमा रहि पार्टी जिवनमा कार्य गर्दा सम्पुर्ण रुपमा सहयोग गर्नुहुने सम्पुर्ण कमरेडहरुमा आज सम्मको साथ सहयोग र अतुलनीय योगदानका लागी धेरै धेरै धन्यवाद, साथै विभिन्न रुपमा सहयोग गर्नुहुने विभिन्न राजनैतिक दलका साथिहरु, मित्रहरु, सामाजिक ब्यक्तित्वहरु, संघ सस्थहरु, जनसमुदायहरुमा विशेष धन्यवाद ज्ञापन गर्दछु।
राजनीतिबाट अलग भएको घोषणा गरे तापनि उहाँले नेता खिमलाल भट्टराईको मार्गनिर्देशन र सहकार्यलाई सधैं स्मरण गरिरहने उल्लेख गर्नुभएको छ। उहाँले पार्टी जीवनमा रहँदा सहयोग गर्ने सम्पूर्ण कमरेडहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक व्यक्तित्वहरू र स्थानीय जनसमुदायलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
ज्ञवालीले निर्वाचनमा विजयी भएका सम्पूर्ण प्रतिनिधि सभा सदस्यहरूलाई बधाई दिँदै आगामी कार्यकालको सफलताको कामना समेत गर्नुभएको छ।