भैरहवा— रुपन्देहीको राजनीतिक माहोल थप तातिँदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो शक्ति विस्तार अभियानलाई तीव्र बनाएको छ। आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत अन्य दलका दुई सक्रिय नेता राप्रपामा औपचारिक रूपमा आबद्ध भएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) की समानुपातिक उम्मेदवार विमलादेवी विक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर–३ का वडा सभापति राजकुमार श्रेष्ठले राप्रपामा प्रवेश गरेका हुन्। मायादेवी–८ निवासी विक र श्रेष्ठलाई राप्रपा रुपन्देही अध्यक्ष सागरप्रताप राणा, केन्द्रीय सदस्य स्वाती थापा तथा रुपन्देही–३ का प्रतिनिधिसभा उम्मेदवार गौरव बोहराले स्वागत गरेका थिए।
पार्टी प्रवेशपछि विकले देशमा बढ्दो विदेशी प्रभावलाई नियन्त्रण गर्दै धर्म र संस्कृतिको संरक्षण आवश्यक रहेको बताइन्। सोही उद्देश्यले आफू राप्रपामा आबद्ध भएको उनको भनाइ थियो। त्यस्तै, रास्वपा परित्याग गरेका श्रेष्ठले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको मुद्दालाई अघि बढाउन र संघीयता खारेजीको पक्षमा उभिन राप्रपा रोजेको स्पष्ट पारे। उनले रुपन्देही–३ मा उम्मेदवार बोहराको जित सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।
राप्रपा उम्मेदवार, वरिष्ठ पाइलटसमेत रहेका बोहराले नयाँ सदस्यहरूको आगमनले पार्टी अझ सुदृढ बनेको प्रतिक्रिया दिए। धर्म, संस्कृति र राष्ट्रियताको पक्षमा सबै शक्ति एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए।
रुपन्देही–३ मा पछिल्लो समय विभिन्न दल र स्वतन्त्र समूहबाट राप्रपातर्फ समर्थन बढ्दो छ। यसअघि स्वतन्त्र उम्मेदवार गोपाल भण्डारी, थारु अगुवा धनिराम चौधरी तथा युवा अजयकुमार गुप्ता पनि राप्रपामा समाहित भइसकेका छन्। निरन्तर बढिरहेको प्रवेश लहरले आगामी निर्वाचनमा आफूहरूलाई थप सहजता मिल्ने विश्वास राप्रपा नेताहरूले व्यक्त गरेका छन्।