मर्चवारमा २ सय ५० जनाको निशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिदै

खबर नागरिक

भैरहवा । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको दशौँ स्थापना दिवसको अवसरमा २ सय ५० जनाको  मोतियाबिन्दु शल्यक्रिया गरिने भएको छ । 

रुपन्देहीको मर्चवार तथा लुम्बिनी क्षेत्रका अधिकांसको आखाँमा मोतियाविन्दुको समस्यम देखिएपछि मोतियाविन्दु उन्मुलन गर्ने अभियान अन्तर्गत शनिबार बृहत् निःशुल्क आँखा जाँच, मोतियाबिन्दु तथा शल्यक्रिया शिविर आयोजना गर्न लागेको क्लबका अध्यक्ष विष्णु शर्माले जानकारी दिए । 

सन् २०१६ मा स्थापना भएको क्लबले निरन्तरसामाजिक गतिविधीमा संलग्न रहेको छ । रोटरीको अभियान अन्तर्गत अहिले आखाँ सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यका साथ मंसिर २० गते कोटहीमाई गाउँपालिका वडा नं. ५, मझगावामा शिविर सञ्चालन गर्न लागेको हो ।

रोटरीको प्रस्तावित सामुदायिक आखाँ उपचार केन्द्र मझगावाले सातामा २ दिन सेवा दिदै आएको स्थानमै शिविरबाट उपचार गर्ने र मोतियाविन्दु देखिएमा निशुल्क अप्रेशन समेत गरिने बताए । शिविरमा लुम्बिनी नेत्रालयको प्रविधिक सहकार्य रहने छ । 

आयोजकले यस शिविरमार्फत न्यूनतम २५० जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखेको छ । मर्चवार क्षेत्रमा लक्ष्य अनुरूप बिरामी फेला नपरे अन्य स्थानमा समेत शिविर विस्तार गरिने क्लबले जनाएको छ ।

शिविरबारे जानकारी दिँदै लुम्बिनी नेत्रालयका प्रबन्ध निर्देशम हिरा शाहले लुम्बिनी प्रदेशमा ३० हजारभन्दा बढी मानिस मोतियाबिन्दुबाट प्रभावित रहेको र अधिकांस मर्चवार एवं लुम्बिनी आसपासका क्षेत्रमा बिरामीको रहेकोले रोटरीले समुदाय लक्षित गर्न लागेको बताए । जाँच पछिको शल्यक्रिया भने नयाँ प्रविधिअनुसार ’टपिकल फेको’ विधिबाट शल्यक्रिया गरिने उनले भने ।

विना चिरफार, टाका रहित हुने यो अप्रेशन १० देखि १२ मिनेटभित्र हुने र एक घण्टामै घर जान सकिने सहकार्य संस्था लुम्बिनी नेत्रालयले जनाएको छ  । 


प्रतिक्रिया