चितवन । नेपाल फिसरिज टेक्निसियन एशोसिएसन (नेफ्टा) को दोस्रो राष्ट्रिय अधिवेशन तथा तेस्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ मंसिर २८ र २९ गते चितवनको भरतपुर महानगरपालिका–भण्डारास्थित कृषि तालिम केन्द्रको सभाहलमा आयोजित उक्त कार्यक्रम रमेश जैसवालको अध्यक्षतामा सम्पन्न भएको हो।
सरकारी, गैरसरकारी, निजी तथा सहकारी क्षेत्रमा क्रियाशील मत्स्य प्राविधिक, अनुसन्धानकर्ता तथा प्रसारकर्ताहरूको पेशागत मर्यादा, वृत्तिविकास, सुरक्षित भविष्य तथा हकहित संरक्षण र उत्थानका लागि साथै देशभर छरिएर रहेका मत्स्य प्राविधिकबीच सुमधुर सम्बन्ध स्थापना गर्ने उद्देश्यले नेपाल फिसरिज टेक्निसियन एशोसिएसन स्थापना गरिएको हो।
मंसिर २८ गते आयोजित उद्घाटन सत्र कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशका सचिव बैकुण्ठ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल मत्स्य समाजका अध्यक्ष प्रा. डा. सुनिला राई, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का अध्यक्ष डम्मर बहादुर बम्म, प्रा. डा. माधव कुमार श्रेष्ठ, भागवत प्रसाद, युगल किशोर तिवारी, जयदेव विष्टलगायत मत्स्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा संस्थाका अध्यक्ष रमेश जैसवालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष लाक्पा रिदर भोटे सैचाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव शोभाखर पाण्डेले गर्नुभएको थियो।
मंसिर २९ गते सम्पन्न बन्द सत्रले सुभाष कुमार झाको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शोभाखर पाण्डे र केदार कुमारी अधिकारी, महासचिवमा गोविन्द बहादुर मल्ल, सचिवमा महेश दत्त भट्ट र राजकपुर नापित तथा कोषाध्यक्षमा सुन्दरी कार्की चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा भिम दत्त भट्ट, नरेश कुमार महतो, प्रेम चौधरी, कमलु यादव, विमर्श ज्ञवाली, बच्चेलाल मुखिया, विष्णु गौतम, धिरेन्द्र प्रताप ठाकुर, मनिता पौडेल र नविन सिंह धामी निर्वाचित हुनुभएको छ।
नयाँ कार्यसमिति चयनका लागि बैकुण्ठ अधिकारी, भागवत प्रसाद र डा. ज्ञान बहादुर जिरेलले निर्वाचन मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो। अधिवेशनले मत्स्य क्षेत्रको विकास, प्राविधिकहरूको पेशागत सुदृढीकरण तथा संस्थागत मजबूतीका लागि महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।