गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आज जारी गरेको वक्तव्यमा आफूले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनमा उठेका शेयर सम्बन्धी प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन ।
गुरुङले आफ्नो लागि पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफूले नैतिक कदम चालेको बताए। उनले विशेषगरी युवापुस्ताबाट उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उल्लेख गरे।
“मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै ‘‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,” गुरुङले वक्तव्यमा भने।
उनले आफ्नो निर्णयलाई नैतिक जिम्मेवारीको निर्वाहका रूपमा प्रस्तुत गर्दै सञ्चारकर्मी, आम नागरिक र युवालाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आह्वान गरेका छन्। साथै, उनले मिडियामा पनि पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको संकेत गरेका छन।