भैरहवा । सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा हुने अवैध चोरीपैठारी नियन्त्रणका लागि आफ्नो सक्रियतालाई तीव्रता दिएको छ। यसै क्रममा रुपन्देहीका विभिन्न स्थानहरूबाट सशस्त्र प्रहरीले बुधबार एकैदिन लाखौं मूल्य बराबरका अवैध सामानहरू नियन्त्रणमा लिन सफल भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा विभिन्न समय र स्थानमा छापा मारी कुल ७ लाख ७७ हजार रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको हो।
बुधबार बिहान ९ बजे सिद्धार्थनगर नगरपालिका-२, केउटलिया इलाकामा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरिएको २ लाख ५७ हजार ३५० रुपैयाँ बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको गणका सूचना अधिकारी डिएसपी दुर्गा थापाले जानकारी दिनुभएको छ।
सोही दिन बिहान केउटलियाबाटै दुई कार्टुन अवैध फूलहरू बरामद गरिएको थियो। यस्तै, दिउँसो ४ बजे मेउडिहवा क्षेत्रबाट थप चार कार्टुन करिब ५० हजार रुपैयाँ मूल्य बराबरको फूलहरू बरामद गरियो। बरामद गरिएका यी सबै फूलहरू प्लान्ट क्वारेन्टाइन कार्यालय बेलहियाका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ।
बुधबार साँझ पौने ६ बजे सियारी गाउँपालिका(२ स्थित एक टिनको टहरामुनि लुकाएर राखिएको २०० क्यारेट केरा र सो ढुवानीमा प्रयोग भएको लु ३ प ८४४६ नम्बरको मोटरसाइकल सशस्त्रले फेला पारेको थियो। केरा र मोटरसाइकल गरी जम्मा ५ लाख ४० हजार रुपैयाँ बराबरको सम्पत्ति नियन्त्रणमा लिइएको हो। जसमा केरालाई क्वारेन्टाइन प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको छ भने मोटरसाइकललाई भन्सार कार्यालय बुझाइएको छ।
सीमा सुरक्षा र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले पछिल्लो समय कडा निगरानी बढाएपछि तस्करीका गतिविधिमा कमी आउने विश्वास लिइएको छ।