लुम्बिनीका ५ करोडका बिजुली बस अलपत्र : काठमाडौं लैजाने तयारी प्रधानमन्त्री कार्यालयद्वारा रोक

खबर नागरिक
लुम्बिनी लुम्बिनीमा प्रदूषण न्यूनीकरण गर्ने र पर्यटकलाई सुविधा दिने उद्देश्यले ल्याइएका ५ वटा अत्याधुनिक विद्युतीय बस र १४ वटा भ्यान लामो समयदेखि अलपत्र अवस्थामा रहेका छन्। पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती बसहरू काठमाडौं लैजाने तयारी गरे पनि प्रधानमन्त्री कार्यालयको हस्तक्षेपपछि उक्त प्रक्रिया रोकिएको छ।

दुई साताअघि मन्त्रालयले सचिवस्तरीय निर्णय गरी लुम्बिनी विकास कोष मातहत रहेका यी बसहरू नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने प्रक्रिया थालेको थियो। जेनजी आन्दोलनका क्रममा प्राधिकरणका सवारी साधनमा क्षति पुगेको भन्दै ती बस काठमाडौं पठाउन लागिएको थियो।

तर, सोमबार प्रधानमन्त्री कार्यालयका अधिकारीले कोषलाई फोन गरी ती बसहरू लुम्बिनीमै सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएपछि काठमाडौं पठाउने प्रक्रिया तत्कालका लागि रोकिएको कोषका सदस्य सचिव दीपक श्रेष्ठले जानकारी दिए।

लुम्बिनीका बस काठमाडौं लैजान लागिएको जानकारी पाएपछि स्थानीय युवाहरू अर्जुन कुर्मी र सकिल अहमद खाँले सदस्य सचिव श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै निर्णय कार्यान्वयन नगर्न दबाब दिएका थिए। उनीहरूले लुम्बिनीका लागि आएका सवारी साधन यहीँकै प्रयोजनमा ल्याउन माग गरेका छन्।

२०७७ सालमा एसियाली विकास बैंक ९ब्म्द्य० को ुक्लिन इनर्जी प्रोजेक्टु अन्तर्गत करिब १३ करोड रुपैयाँ बराबरका १४ वटा भ्यान र ५ वटा बस अनुदानमा प्राप्त भएका थिए। सरकारले यसका लागि साढे ३ करोड रुपैयाँ भन्सार शुल्क समेत बेहोरेको थियो।

तर, सञ्चालन मोडालिटी नमिल्दा यी सवारी साधन विगत १६ महिनादेखि लुम्बिनी विकास कोषको गेट नम्बर २ अगाडि घामपानीमा थन्किएका छन्। हाल बसका सिसा फुटेका, टायर बिग्रिएका र ब्याट्रीले काम गर्न छाडेका छन्। दुई वटा भ्यान त दुर्घटनामा परेर पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा छन्।

पर्यटक बोक्न ल्याइएका भ्यानहरू हाल कोषका पदाधिकारी र कर्मचारीले निजी प्रयोजनका लागि प्रयोग गरिरहेको आरोप लागेको छ। लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि पौडेलका अनुसार कर्मचारीहरूकै अनिच्छा र लापरवाहीका कारण बस सञ्चालन हुन नसकेका हुन्।

कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईका अनुसार निजी क्षेत्रलाई सञ्चालन गर्न दिन कानुनी जटिलता छ। नेपालमा पेट्रोल गाडीको भाडादर तय भए पनि विद्युतीय गाडीको भाडा दर निर्धारण नहुनु र सेतो प्लेटलाई हरियोमा बदल्न भएको ढिलाइले समस्या निम्त्याएको हो, उनले भने।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटकलाई लुम्बिनी ल्याउन र लुम्बिनीलाई तिलौराकोट, रामग्राम तथा देवदह जस्ता बुद्धस्थलसँग जोड्न यी बस ल्याइएका थिए। अत्याधुनिक, अपाङ्गमैत्री र पूर्ण वातानुकूलित यी बसका लागि करोडौँको लगानीमा चार्जिङ स्टेसन समेत निर्माण भइसकेको छ। तर, कोषको लापर्बाहीले यी करोडौँका साधन कबाडमा परिणत हुने जोखिम बढेको छ।

प्रतिक्रिया