रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश

खबर नागरिक

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मुल मिसिल झिकाउने आदेश भएको छ ।

बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मुद्दाको मुल मिसिल र पुरक अभियोगको सक्कल मिसिल झिकाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाय स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

जिल्ला अदालत रुपन्देहीबाट मुद्दाको मुल मिसिल र पुरक अभियोगको सक्कल मिसिल झिकाउने आदेश भएको छ,उनले भने,जिल्लाबाट मिसिल प्राप्त भएपछि निवेदनमाथि सुनुवाइ अघि बढ्छ ।

लामिछाने सहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ ।

लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

छविलाल जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश भएको थियो।

बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी उच्च अदालतमा निवेदन दिएकोमा अदालतले दुवै मुद्दा साथै राख्ने आदेश गरेको थियो । लामिछाने पूर्पक्षका लागि नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन् ।

प्रतिक्रिया