इनिशा बिक हत्याकाण्डको दोषीलाई कारबाही नभए देशव्यापी आन्दोलनको चेतावनी

खबर नागरिक

भैरहवा, २ चैत्र । सुर्खेत जिल्लाको गुरुवाकोट नगरपालिका–१६ बडाखोलाकी १६ वर्षीया इनिशा बिकमाथि भएको जघन्य अपराधको घटनाप्रति नेपाल विश्वकर्मा समाज जागरण अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अभियानका संयोजक बिनोद रसालीले एक वक्तव्य जारी गर्दै उक्त घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको बताएका छन्। उनले पीडित परिवारलाई न्याय दिलाउनका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन । एक निर्दोष किशोरीमाथि गरिएको यस्तो दानवीय अपराधले समग्र नेपाली समाजलाई स्तब्ध र आक्रोशित बनाएको अभियानले उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यस्ता घटनाले नागरिकको जीउधनको सुरक्षा र राज्यको उत्तरदायित्वमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । अपराधीलाई तत्काल पहिचान गरी कानुनी कठघरामा उभ्याउन र निष्पक्ष अनुसन्धानमार्फत हदैसम्मको कडा सजाय सुनिश्चित गर्न हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।”

संयोजक रसालीले दोषीलाई कडा कानुनी कारबाही गरिनुपर्ने र आवश्यक परे कानुन संशोधन गरेरै भए पनि भविष्यमा यस्ता अमानवीय घटनाहरु दोहोरिन नदिने व्यवस्था गर्नुपर्ने बताएका छन्। साथै, यस्तो जघन्य अपराधमा संलग्न दोषीमाथि मृत्युदण्डसम्मको व्यवस्था गरिनुपर्ने माग समेत अभियानले अघि सारेको छ। समयमै दोषी उपर कारवाही नभए अभियानले देशव्यापी आन्दोलनको चेतावनी समेत दिएको छ । यसरी आन्दोलनबाट हुने जनधनको क्षतिको जिम्मेवारी राज्यले लिनुपर्ने अभियानका संयोजक रसालीले बताए । 

अभियानले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । ढिलो गरि न्याय दिनु पनि अन्याय गरे सरह हुने भएकोले अभियानले यो घटनालाई यथाशिघ्र समाधान गर्न पनि माग गरेको छ । 


प्रतिक्रिया