विगतका नेताले जनतासँग गद्दारी गरे, यसपालि परिवर्तन निश्चित छ: भोपेन्द्र यादव

खबर नागरिक

रूपन्देही । आसन्न निर्वाचनको माहोल तातिरहेका बेला जनमत पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार भोपेन्द्र प्रसाद यादवले जनता अहिले पूर्ण रूपमा परिवर्तनको पक्षमा रहेको दाबी गरेका छन। घरदैलो कार्यक्रमका क्रममा गाउँ-गाउँ पुग्दा जनतामा उत्साह र पुरानो नेतृत्वप्रति चरम आक्रोश देखिएको उनले बताए । उनले भने  'अहिले यहा रुपन्देही क्षेत्र नम्बर ४ मा  जनमत र काँग्रेसबीच टक्कर हुँदैछ ।'

उनले विगतमा जितेर गएका नेताहरूले जनताको भावनासँग खेलबाड गरेको र क्षेत्रको विकासमा कुनै चासो नदिएको आरोप लगाए। उनले भने,विगतका नेताहरूले जनतासँग गद्दारी गरे। आज जनता पीडित र शोषित छन्। किसानहरूले मल, बीउ र सिँचाइका लागि लाठी खानुपर्ने अवस्था छ। याे क्षेत्रमा आधारभूत सुविधाहरूको समेत चरम अभाव रहेको छ,  मलको कालोबजारी र तस्करीले गर्दा किसानले दोब्बर मूल्य तिर्नुपर्ने बाध्यता, सडक, एम्बुलेन्स, र दमकल जस्ता अत्यावश्यक सेवाहरूको कमी, डिग्री कलेज, मेडिकल कलेज र रोजगारीका अवसरहरू शून्य रहेको यहाँकाे अवस्था छ जसलाइ सुधार गर्न जरूरी छ । 

आफू किसानको नेता नभइ छोरा भएको बताउदै जनमत पार्टीले किसान र गरीबको सरकार बनाउन चाहेको उनको भनाइ छ ।  जनमत पार्टीका राष्ट्रिय सचिव समेत रहेका उनले अघिल्लो निर्वाचनमा १६ हजार मत प्राप्त गरेको स्मरण गर्दै उनले यसपालि आफ्नो जित सुनिश्चित भएको दाबी गरे। 'म किसानको छोरा हुँ, गरिब किसानको सरकार बनाउन म दिनरात खटिएको छु,' उनले भने।

उनले यस क्षेत्रमा १०–१२ हजार सक्रिय कार्यकर्ता सहितकाे संगठन बलियो रहेकाे,  जातीय समीकरण कायम गरि हरेक जाति, धर्म र समुदायको आफूप्रति पूर्ण समर्थनगरेकाे, पैसा, मासु र रक्सीको प्रलोभनमा नपरी यसपालि जनताले भ्रष्ट नेताहरूलाई पाखा लगाउने विश्वासरहेकाेले आफ्नो जित सुनिश्चित रहेकाे बताए । 

उनले पहिले जितेका नेताहरूले क्षेत्रलाई विकास गर्नुको साटो विहार जस्तो बनाएको भन्दै अब जनता सचेत भइसकेकाले कुनै पनि प्रलोभनले काम नगर्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया