जनकपुर । धनुषामा यात्रुबाहक बस र अटो रिक्सा आपसमा ठोक्किँदा एकै परिवारका तीन सदस्यसहित चारजनाको ज्यान गएको छ । उक्त दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन् ।
शनिबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो रिक्सालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका–१ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटो चालक डम्बर राईको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरू एउटै परिवारका सदस्य रहेको प्रहरीले पुष्टि गरेको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनामा १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि जनकपुरधामस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।