अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

खबर नागरिक

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयर रहँदा आफ्नो वैध आम्दानीभन्दा धेरै सम्पत्ति जोडेको पाइएको हो।

अख्तियारको अनुसन्धानबाट चालिसेले कुल ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको देखिएको छ। तर त्यसमध्ये ४ करोड ८८ लाख रुपैयाँ मात्रै वैध रूपमा आर्जन भएको पुष्टि भएको आयोगको दाबी छ। बाँकी ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गर्दै सोही रकमलाई बिगो कायम गरिएको छ। यससँगै उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा समेत दायर गरिएको छ।

अख्तियारले चालिसेसँगै उनकी पत्नी मन्दिरा चालिसे, छोरा सागर र सञ्जिव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई समेत सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको जनाएको छ। आयोगका अनुसार चालिसेले सम्पत्ति विवरण पेश गर्दा वास्तविक सम्पत्ति लुकाएर झुट्टा विवरण पेस गरेको आरोप पनि लगाइएको छ।

चालिसे २०७४ सालको जेठदेखि गोकर्णेश्वर नगरपालिकाका मेयर थिए। मेयरको पाँच वर्षे कार्यकाल पूरा भएपछि उनी काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। संसदीय समितिको नेतृत्व गरिसकेका व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो घटना भएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया