सीबी पब्लिकका २४औं एसईई व्याचकाे विदाई

खबर नागरिक

भैरहवा । भैरहवा स्थित सीबी पब्लिक हाई स्कुलमा कक्षा १० का विद्यार्थीहरूलाई शुभकामना दिदै विदाई गरिएको छ । कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामुहिक विद्यालय परिवारका अध्यक्ष विष्णु पन्थीले पढाई शिक्षक वा अभिभावकका लागि नभई आफ्नै भविष्य र समाज रुपान्तरणका लागि हो भन्ने कुरा विद्यार्थीले बुझ्न जरुरी रहेको बताए । शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित नभई व्यवहारमा उतार्न सके मात्रै शिक्षा सार्थक हुने बताए । 

प्याबसन नेपाल निवर्तमान उपाध्यक्ष समेत रहेका पन्थीले विद्यार्थीहरुलाई शुभकामना दिदै कक्षा १० पछि कलेज जीवन प्रवेश गर्दा विद्यार्थीहरूमा अनुशासनहीनता बढ्न सक्ने तर्फ सचेत गराउँदै कक्षा ११ र १२ कक्षालाई पनि विद्यालय स्तरकै शिक्षाको रुपमा लिनु पर्ने बताए । कलेज गएपछि स्वतन्त्र भइन्छ र पढ्नु पर्दैन भन्ने भ्रम चिर्दै एसईई पछिको खुड्किलोमा पनि अनुशासन र परिश्रम उत्तिकै आवश्यक रहेको बताए । उनले विषय छनोटका सम्बन्धमा विद्यार्थीहरूलाई सुझाव दिँदै साथीहरूको देखासिकीमा लागेर कठिन विषय रोज्नुभन्दा आफ्नो रुचि र क्षमता अनुसारको विषय छनोट गर्न समेत आग्रह गरे ।


विशिष्ट अतिथी प्याबसन सिद्धार्थनगरका उपाध्यक्ष राजेन्द्र घिमिरे, स्कुल व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भण्डारी, शिक्षकहरुले अभिभावकको त्याग र परिश्रमको सम्मान गर्न सबै विद्यार्थी लेआमाबाबु र गुरुलाई नै वास्तविक भगवानको संज्ञा दिनुपर्ने बताए । अभिभावकले आफ्नो गाँस कटाएर सन्तानको उज्ज्वल भविष्यका लागि लगानी गरिरहेकाले विद्यार्थीले त्यसको मर्म बुझ्न आवश्यक छ ।  शिक्षित भई देशको भविष्य निर्माण गर्ने भुमिकामा सबै पुग्ने शुभकामना दिए । विद्यार्थीहरूले आगामी दिनमा परिवार, समाज र राष्ट्रको विकासमा योगदान दिनेमा विश्वस्त रहेको बताउदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सफल शैक्षिक यात्राको पनि शुभकामना व्यक्त गरे । 

विद्यालयका प्राचार्य उदय कुमार मल्लिकले २०६० सालबाट यस विद्यालयले एसएलसीमा सहभागिता जनाउदै अहिले २४ औं व्याचको रुपमा २४ जना विद्यार्थीले एसईईमा सहभागिता जनाएको बताए । यस विद्यालयबाट उत्पादित विद्यार्थीले विगत ४ वर्षदेखि निरन्तर एमबीबीएसमा पूर्ण छात्रवृति सहितको नतिजा ल्याउन सफल हुदै आएकोमा यस व्याचका विद्यार्थीहरुबाट पनि उत्कृष्ठ नतिजा आउने अपेक्षा रहेको बताए । 

कक्षा ९ का विद्यार्थी भुवन श्रेष्ठको अध्यक्षता, विनिता विश्वकर्माको स्वागत तथा द्वय सौभाग्य सिंह सुनार र सितल गुप्ताको सञ्चालनमा भएको कार्यक्रममा ९ का विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम सहित कक्षा १० का विद्यार्थीहरुलाई सम्मान गरेका थिए । 


प्रतिक्रिया