भैरहवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रुपन्देही जिल्लाबाट ६ पूर्वमन्त्रीहरू चुनावी मैदानमा छन । पाँच वटा निर्वाचन क्षेत्रमध्ये चार वटा क्षेत्रमा ६ जना पूर्वमन्त्रीहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन ।
दलगत उम्मेदवारीको अवस्था हेर्दा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पूर्वस्थानीय विकास राज्यमन्त्री घनश्याम यादव अहिर चुनावी मैदानमा छन् । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर ४ मा जनता समाजवादी पार्टी जसपा नेपालका नेता तथा पूर्वशिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ला प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ५ मा हुने देखिएको छ, जहाँ एकै क्षेत्रबाट तीन जना पूर्वमन्त्रीहरु मैदानमा छन् । उक्त क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्ववनमन्त्री मुहम्मद वकील मुसलमान, नेपाली कांग्रेसबाट पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाह र जनमत पार्टीबाट पूर्वकृषिराज्यमन्त्री ओम प्रकाश यादव गुल्जारी उम्मेदवार बनेका छन् ।
विगतको नतिजालाई फर्केर हेर्दा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेका छविलाल विश्वकर्मा, २ बाट एमालेकै विष्णुप्रसाद पौडेल र ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका स्व. दीपक बोहरा निर्वाचित भएका थिए । सोही निर्वाचनमा क्षेत्र नम्बर ४ बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी हाल जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ला र ५ बाट नेकपा एमालेका वासुदेव घिमिरेले जित हासिल गरेका थिए ।