भैरहवा । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औँ वार्षिक उत्सवको अवसर पारेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सञ्चालन गर्ने तयारी भइरहेका बेला, अर्बौँ रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त विमानस्थल अझै पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा लुम्बिनी प्रदेशको अर्थतन्त्र, पर्यटन र व्यावसायिक क्षेत्र गहिरो चिन्तामा परेको छ ।
अन्तर्राष्ट्रिय उडानको केन्द्र बनाउने लक्ष्यसहित निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसक्दा प्रदेश सरकारदेखि निजी क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीयवासीसम्म निराश बनेका छन् । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थल लगभग निष्क्रिय अवस्थामा सीमित हुन पुगेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनु केवल प्राविधिक समस्याको विषय मात्र नभई कूटनीतिक कमजोरीको परिणाम भएको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औँ वार्षिक उत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विदेशी राष्ट्रहरूसँग विश्वास र सहकार्यको वातावरण निर्माण नगरी अन्तर्राष्ट्रिय उडानलाई नियमित बनाउन नसकिने स्पष्ट पारे ।
उनका अनुसार विमानस्थल सञ्चालनका लागि संघीय सरकारले देखाउनुपर्ने आवश्यक सक्रियता नदेखिँदा लुम्बिनी प्रदेशको अर्थतन्त्र र पर्यटन क्षेत्र जोखिममा परेको छ । प्रदेश सरकारले सहकार्यका लागि पटक–पटक प्रस्ताव राखे पनि संघीय सरकारबाट ठोस निर्णय नआउनु चिन्ताको विषय बनेको उनले उल्लेख गरे । “आज विमानस्थल सञ्चालन नहुँदा भोलि यहाँका व्यवसायीहरू धरासायी हुनु हुँदैन,” भन्दै उनले समयमै निर्णय नलिए ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिए ।
यस्तै, लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशको मात्र नभई समग्र मुलुकको गौरवको आयोजना भएको बताएका छन् । उनले विमानस्थल सञ्चालनमा देखिएका समस्या समाधानका लागि संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्यामकिशोर शाहले नेपाल नागरिक उड्डयन प्राधिकरणको आगामी वार्षिक उत्सवलाई लक्षित गर्दै विमानस्थलबाट नियमित उडान सञ्चालन गर्ने योजना अघि बढाइएको जानकारी दिए । “वार्षिक उत्सवको अवसर पारेर आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नियमित गराउनेतर्फ हामी सक्रिय रूपमा काम गरिरहेका छौँ,” उनले भने ।
सरकारको स्पष्ट नीतिगत निर्णय, अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य, प्रभावकारी प्रचारप्रसार तथा लुम्बिनीसँग विमानस्थललाई जोडेर विश्वसामु सन्देश प्रवाह गर्ने दीर्घकालीन रणनीति अवलम्बन नगरेसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन कठिन देखिएको सरोकारवालाहरूको भनाइ छ । यही कारण विमानस्थलको भविष्यलाई लिएर लुम्बिनी प्रदेशभर गहिरो चिन्ता व्यक्त भइरहेको छ ।