राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि, सिंहदरबारबाट सञ्चालन हुने

खबर नागरिक

माघ ४ । राष्ट्रियसभाको १९औँ अधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको संसद् भवन जेन्जी आन्दोलनका क्रममा आगलागी भई क्षतिग्रस्त भएपछि यस अधिवेशन संघीय संसद् सचिवालय, सिंहदरबारबाट सञ्चालन गरिने भएको हो।

अधिवेशनको पूर्वतयारीका लागि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। आजको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट आएको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यक्रम रहेको छ। साथै, हालै दिवंगत नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ। संविधानको धारा ९३ को उपधारा (१) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते आइतबार बिहान ११ बजेका लागि अधिवेशन आह्वान गरेका थिए। यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो।

यसैबीच, निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभाका १९ सदस्यको निर्वाचनका लागि तयारी तीव्र पारेको छ। तीमध्ये एक जना सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया