भैरहवा भन्सार हुदै पहिलो पटक तेस्रो मुलुक निर्यात सुरु

खबर नागरिक

भैरहवा । भैरहवा भन्सार हुदै पहिलो पटक तेस्रो मुलुक सामान निर्यात गरिएको छ । 

रुपन्देहीको सुद्धोधन–४ मैनहियामा अवस्थित फस्र्ट च्वाइस फुड्सले उत्पादन गरेको फ्रेन्च फ्राइ पहिलो पटक भारत हुदै अमेरिकाका लागि ४२ टन निर्यात गरेको हो । 

मंगलबार भैरहवा भन्सार कार्यालयहुदै २१, २१ टनको ३२ बक्स दुई कन्टेनर ३८ हजार ४ सय ८० अमेरिकी डलर बराबरको सामान अमेरिकी आयातकर्ता जेन्ट कम्पनि एलएलसीलाई पठाइएको हो । भारतबाट आएको रेफ्रिजे्रटेड कन्टेनरले कम्पनिबाट वातनुकुलित अवस्थामा सो सामान  कोलकाता बन्दगाह सम्म लैजाने छ । कोलकत्ताबाट पानी जहाजमा फ्रेन्च फ्राइ गनतव्यमा पुग्ने छ । 

भैरहवा भन्सार हुदै भारत निर्यात भएपनि अहिले पहिलो पटक तेस्रो मुलुकको लागि निर्यात भएसँगै अन्य वस्तु निर्यातको लागि बाटो खुलेको छ । फस्र्ट च्वाइस फुड्सले यसअघि नेपाली बजारसँगै भारतमा पनि निर्यात गर्दै आइरहेकोमा तेस्रो मुलुकमा पनि निर्यात थालेको हो ।

कम्पनिले हिमालयन क्रिस्प र हाम्रो फ्राइज ब्रान्डको फ्रेन्च फ्राइ उत्पादन गर्दै आएको छ । साढे २ किलो र १ किलोको प्याकिङमा उत्पादन गर्दै आएको फ्रेन्च फ्राइ अर्डर अनुसारकै ब्राण्डमा निर्यात भएको उद्योगका सञ्चालक कृष्ण पौडेलले बताए । 

२७ जिल्लाका ३५ हजार नेपाली किसानले उत्पादन गरेको आलुबाट बनाइएको फ्रेन्च फ्राइ अमेरिका अब निरन्तर पठाइने छ । गत वर्षदेखि भारत निर्यात भइरहेको छ , अब युके र अष्ट्रेलियामा पनि माग भएकोले निर्यात गर्ने तयारीमा रहेको बताए । अहिले २० कन्टेनर अर्डर भइसकेकोले जादैछ  र यो हरेक हप्ता भैरहवा भन्सार हुदै तेस्रो मुलुकको लागि जाने सञ्चालक पौडेलले भने 

नेपालकै दाजुभाई दिदी बहिनीले उत्पादन गरेको आलु हामीले किनेर डलरमा बेच्ने कामको सुरुवात भएको छ । २०७८ सालमा सुरुवात भएको कम्पनिले अरु देश भन्दा राम्रो गुणस्तरीय र स्वादिलो बनाउन सकेकोले सफलता हासिल भएको छ । अब आलुका अन्य परिकारहरु पनि बनाउने योजनामा रहेको बताए । 

प्रति घण्टा साढे २ टन बनाउने कम्पनिको क्षमता छ । सय जनाले प्रत्यक्ष रोजगारी गरेको कम्पनिसँगै अप्रत्यक्ष रुपमा धेरैको सहभागिता छ, २ सय करोड बढि लगानी कम्पनिमा भएको छ । 

अमेरिकामा निर्यात हुनुअघि अमेरिकाको सम्बन्धित निकायले नेपाली आलुबाट बनेको फ्रेन्च फ्राइजको गुणस्तर चेकजाँच गरी निर्यातको अनुमति दिएको छ । नेपाली उत्पादन ठिक हुदैन भन्ने मानसिकता चिर्नका लागि पनि यसले सहयोग पुग्छ । 

राज्यको निति अनुसार विरगंजबाट मात्रै तेस्रो मुलुक सामान निर्यात गर्ने व्यवस्था रहेकोमा यहाँबाट विरगंज पठाउदा खर्चिलो, झन्झटिलो भएपछि भैरहवा भन्सारबाट पठाउनका लागि प्रक्रिया सुरु गरेका हौ । भन्सार कार्यालयको पहल र सहयोगका कारण यहाँबाट तेस्रो मुलुक जानका लागि बाटो खुलेको छ । 

नेपाल सरकारको निर्यातमुखी निति अन्तर्गत किसानबाट खरिद गरि नेपाली उत्पादन भारतको बाटो हुदै तेस्रो मुलुक पहिलो पटक यहाँबाट पठाइएको भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपाने बताए ।

विगत १५ दिन देखि हामीले निर्यातका लागि सम्बन्धित निकायसँग छलफल गरि निश्कर्षमा पु¥याइएको हो । २ वटा कन्टेनरबाट अमेरिकाका लागि सुरुवात भएको छ र निरन्तर पठाइने प्रतिबद्धता कम्पनिले गरेको छ । यसले आयातलाई रोक्दै निर्यात तर्फ पनि जोड दिएकोले यसले व्यापार घाटा कम हुने प्रमुख न्यौपानेले भने ।  

युरोपियन प्रविधिमा आधारित आलु प्रशोधन उद्योगबाट फ्रेन्च फ्राइजसँगै अब केही महिनाभित्रै आलु टिक्की, बर्गर प्याटी, स्माइली, ह्यास ब्राउन लगायत परिकार उत्पादन गर्ने कम्पनिको लक्ष्य छ ।

करिब ५ बिघा क्षेत्रफलमा ६० हजार स्क्वायर फिटमा फैलिएको उद्योगले विश्वस्तरीय फ्रोजन पोटाटो प्रोडक्ट र फ्रेन्च फ्राइज उत्पादन संसारका जुनसुकै ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको सञ्चालक पौडेलको दाबी छ । कम्पनीले तराई, पहाड र हिमाली क्षेत्रमा प्रशोधनयोग्य आलुको अनुसन्धानको लागि करोडौँ रकम खर्च गरिसकेको जनाएको छ ।

यो वर्ष किसानबाट करिब २ हजार मेट्रिक टन आलु उद्योगले खरिद गरेको छ । विशेषगरी कैलाली, नवलपुर, सिन्धुली, काभ्रेपलाञ्चोक लगायत २६ जिल्लामा सफल परीक्षण गरी ३५ हजार किसानमार्फत आलु उत्पादन गरिरहेको उनले बताए ।

काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ, नेपालगञ्ज जस्ता मुख्य शहरमा ५ वटा वितरक, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेस्टुरेन्ट, १७१ मोडर्न मार्टमार्फत उपभोक्तामाझ आफ्नो उत्पादन पु¥याएको उनले बताएका छन् ।

नेपालमा भारत, बेल्जियम र अन्य केही मुलुकबाट आलुको परिकार मात्रै वार्षिक कम्तीमा १५ अर्ब रूपैयाँको आयात हुन्थ्यो । आयातलाई प्रतिस्थापन गर्दै अब ७५ प्रतिशत आयात विस्थापित भइसकेको छ, एक वर्षभित्रै पूरै आयात विस्थापन गर्ने लक्ष्य कम्पनिको छ । 

फ्रेन्च फ्राइ माइनस १८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । तापक्रम कायम गरे यो फ्रेन्च फ्राइज १८ महिनासम्म उपभोग गर्न सकिन्छ । नेपाली बजारमा पनि माग उच्च रहेकाले उत्पादन खपतको समस्या नभएको कम्पनिले जानकारी दिएको छ ।

उद्योग दैनिक १० घन्टा सञ्चालन हुँदा वार्षिक ४० हजार टन आलु आवश्यक पर्छ । यो आवश्यकता पूरा गर्न उद्योगले आलु उत्पादनमा पनि लगानी गरेको छ । नेपालमा तराई, पहाड र उच्च पहाडी क्षेत्रमा तीन सिजनमा आलु उत्पादन गर्न सकिने भएकोले उद्योगलाई आलु अभाव नहुने विश्वास छ ।

फ्रेन्च फ्राइजको लागि विशेष प्रकारको आलु आवश्यक पर्ने भएकाले कम्पनीले नेदरल्यान्डबाट बिउ ल्याएर परीक्षण उत्पादन सुरू गरेको थियो ।



प्रतिक्रिया