काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको रकम लुटेको छ । मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो ।
मंगलबार साँझ ७ बजेको समयमा नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेको हो । पहिचान नखुल्ने गरी नकाब लगाएर आएका करीब ५-६ जनाको समूहले सुरक्षा गार्डमाथि कुटपिट गरी बैंकमा लुटपाट गरेका हुन् ।
घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।
प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ। चालक बनेपाका हुन् । सबै लुटेरा बनेपाबाट चढेका थिए । अरु लुटेराको खोजी भइरहेको एसपी सुवेदीले जानकारी दिए । लुटपाटपछि प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको एसपी सुवेदीले बताए ।
स्थानीयका अनुसार नकाबधारीहरु बैंक छिरेर त्यहाँ रहेका सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारीहरू नियन्त्रण लिएर पैसा लुटेर भागेको बताएका छन् । घाइते सेक्युरिटी गार्डको भने गाउँपालिकाकै बस्तीपुरको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ बताएको छ ।