डा. कार्कीले टारिन् अफवाह : रास्वपा प्रति प्रतिबद्धता कायमै

खबर नागरिक

पुस ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा विघटित प्रतिनिधिसभाकी सांसद डा. तोसिमा कार्कीले पार्टी परित्याग गर्ने कुनै योजना नरहेको स्पष्ट पारेकी छन्। आफू पार्टी छोड्न लागेको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएकोप्रति आपत्ति जनाउँदै उनले त्यसलाई निराधार अफवाहको संज्ञा दिएकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विकल्प होइन, मुलधारको मध्यमार्गी राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफू सुरुदेखि नै सक्रिय रहेको बताएकी छन्। उनले देशका ६० जिल्लामा पुगेर संगठन विस्तार गरेको र विदेशमा प्रवास विभाग गठनमा समेत भूमिका निर्वाह गरेको उल्लेख गरेकी छन्।

राजनीतिमा पाइला टेकेको र सपना बुनेको आफ्नै पार्टी भएकाले रास्वपाप्रति विशेष लगाव रहेको उनको भनाइ छ। साथै, ललितपुर क्षेत्र नम्बर ३ बाट पार्टीभित्रै उम्मेदवारी दर्ता गराइसकेको जनाउँदै बाँकी निर्णय जनताको जनादेशअनुसार हुने बताएकी छन्।

अन्त्यमा, उनले यस्ता भ्रामक समाचार र हल्लामा नपर्न सबैलाई आग्रह गरेकी छन्।

प्रतिक्रिया