भैरहवा । युनिभर्सल मेडिकल कलेज भैरहवाले अत्याधुनिक लेजर प्रविधि प्रोक्टोलोजीबाट सेवा सुरु गरेको छ ।
अस्पतालले देवदह नगरपालिका वडा नं. १२ बस्ने वर्ष २१ को प्रविण हरिजनको शल्यक्रिया गरि नयाँ प्रविधिको सुरुवात गरेको हो । शल्यक्रिया पश्चात विरामीको अवस्था समानइ र सन्तोषजनक पाएपछि डिस्चार्ज समेत गरिएको छ ।
अस्पतालका शल्यक्रिया विभागका एसोसियट प्रोफेसर डा.सन्तोष मिश्र, डा.सन्देश खड्का, डा.समीकुमार शाह, एनेस्थसिया विभागका प्रमुख तथा प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, डा.विजय यादव, नर्सिङ्ग स्टाफ शान्ति थापा सिन्जाली लगायतका टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
नयाँ प्रविधिबाट विरामीको शल्यक्रिया सुरुसँगै पाइल्स, पाइलोनाइडल साइनस, एनलफिसर र फिस्टुला जस्ता रोगहरुको उपचार समेत लेजर प्रविधिबाट गर्न सकिने डा.मिश्रले बताए । उनका अनुसार लेजर शल्यक्रिया परम्परागत (ओपन) शल्यक्रियाको तुलनामा विरामीलाई धैरे फाइदाजनक रहेको छ । यस प्रविधिबाट गरिने शल्यक्रियामा रगत कम खेर जाने, संक्रमण दर न्युन रहने, विरामीलाई अस्पतालको बसाई अवधि एकदमै छोटो हुने र सफलता दर उच्च रहने विशेषता रहेको छ ।
साथै विरामी चाँडो नै आफ्नो सामान्य जीवन शैलीमा फर्किन सक्ने र उपचारपछि हुने पीडा पनि न्युन हुन्छ । सेवा सुरु भएपश्चात् रुपन्देहीमात्र नभई आसपासका जिल्लाहरुका विरामीहरुले समेत आधुनिक, सुरक्षित र प्रभावकारी शल्यक्रिया उपचार प्राप्त गर्न थप सहज हुने अस्पतालले अपेक्षा लिएको छ ।