रुपन्देहीको ५ वटै क्षेत्रमा रास्वपाकाे ‘क्लिन स्विप’

खबर नागरिक

भैरहवा । रुपन्देहीमा रास्वपाले क्लीन स्वीप गरेको छ । पाँच वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेसँगै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिन स्विप’ गरेको हो । हालसम्मको क्षेत्रगत रुपमा अन्तिम मतपरिणाम अनुसार रुपन्देही १ मा सुनिल लम्साल, क्षेत्र नम्बर २ मा सुलभ खरेल, क्षेत्र नम्बर ३ मा डा. लेखजंंग थापा ,क्षेत्र नम्बर ४ मा कन्हैया बनियाँ र क्षेत्र नम्बर ५ मा तौफिक अहमद खान निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रास्वपाले पाँच वटै क्षेत्रको नजिता आफ्नो पोल्टामा पारेपनि रुपन्देही ३ का निर्वाचित उम्मेदवारले नेपालकै अत्याधिक बढी मतान्तरले विजयी बनेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका थापा ५८ हजार ८ सय १४ मत ल्याई विजयी बनेका हुन । यस अघिका यस क्षेत्रबाट दिपक बोहरा निर्वाचित भएका  थिए । 

१९ जना दलिय र १७ जना स्वतन्त्र गरि कुल ३६ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ३ बाट थापा ५० हजार ३ सय ८९ मतान्तरले विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशिल गुरूङले ८ हजार ४ सय ३५ मत ल्याएका छन भने तेस्रो स्थानमा नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याए ।  निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेकोमा ९४ हजार २ सय ३२ जनाले मताधिकार प्रयोग गरेका थिए । 

रुपन्देहीको क्षेत्र नम्बर २ प्रतिनिधी सभा सदस्यमा सुलभ खरेल ५६ हजार ५५०  मत ल्याई विजयी बनेका हुन । यस अघिका त्यस क्षेत्रबाट विष्णु पौडेल निर्वाचित थिए । २१ जना दलिय र १८ जना स्वतन्त्र गरि कुल ३९ जना उम्मेदवार रहेको क्षेत्र नम्बर २ बाट खरेल ४३ हजार ६ सय ८९ मतान्तरले विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु पौडेलले १२ हजार ८ सय ६१ मत ल्याएका छन भने तेस्रो स्थानमा नेपाली कांग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३ सय ९२ मत ल्याए । 

निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ३५ हजार ५० मतदाता रहेकोमा ८६ हजार ७ सय ३० जनाले मताधिकार प्रयोग गरेका थिए । 

रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधी सभा सदस्यमा रास्वपाकै  कन्हैया बानिया २८ हजार ६६ मत ल्याई विजयी बनेका हुन । यस अघिका त्यस क्षेत्रबाट निर्वाचित सर्वेन्द्रनाथ शुक्ले पनि २८ हजार मत ल्याई विजयी बनेका थिए । १५ जना दलिय र ७ जना स्वतन्त्र गरि कुल २२ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ४ बाट कन्हैया ७ हजार ८ सय ४ मतान्तरले विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोद यादवले २० हजार २ सय ६२ मत ल्याएका छन भने तेस्रो स्थानमा नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६ सय १३ मत ल्याए । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रमोद कुमार यादवले शुक्ललाई पराजित गरेका थिए । २०७९ मा शुक्लले प्रमोद यादवलाई पराजित गरेका थिए ।

निर्वाचित कन्हैया हाल रुपन्देहीको क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभामा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य थिए । उनले राजिनामा दिएर प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी रास्वपाबाट दिएका थिए । 

निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख १६ हजार १ सय ७२ मतदाता रहेकोमा ७७ हजार १५ जनाले मताधिकार प्रयोग गरेका थिए । जसमा ४ हजार ९ सय ७७ वटा मत बदर भएको निर्वाचन अधिकृत टोप बहादुर विष्टले जानकारी दिए । 

रुपन्देहीको क्षेत्र नम्बर ५ प्रतिनिधी सभा सदस्यमा तौफिक अहमद खान ३८ हजार ८ सय ६ मत ल्याई विजयी बनेका हुन । यस अघिका यस क्षेत्रबाट नेकपा एमालेका बासुदेव घिमिरे निर्वाचित भएका  थिए । १९ जना दलिय र ८ जना स्वतन्त्र गरि कुल २७ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ५ बाट खान २५ हजार ७ सय ६ मतान्तरले विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिमलाल भट्टराई १३ हजार १ सय मत ल्याएका छन भने तेस्रो स्थानमा नेपाली कांग्रेसका भरत कुमार शाहले १२ हजार ६ सय २४ मत ल्याए । 

निर्वाचन क्षेत्र नम्बर ५  मा १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेकोमा ८४ हजार ८ सय ३८ जनाले मताधिकार प्रयोग गरेका थिए । 

रुपन्देहीको क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्यमा रास्वपाकै सुनिल लम्साल ५४ हजार ८ सय ४५ मत ल्याई विजयी बनेका हुन । यस अघिका यस क्षेत्रबाट नेकपा एमालेका छविलाल विश्वकर्मा निर्वाचित भएका  थिए ।

 २० जना दलिय र ११ जना स्वतन्त्र गरि कुल ३१ जना उम्मेदवार रहेको क्षेत्र नम्बर १ बाट लम्साल  ४२ हजार ८ सय ६३ मतान्तरले विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिरा बहादुर केसीले ११ हजार ९ सय ८२ मत ल्याएका छन भने तेस्रो स्थानमा राप्रपाका प्रज्वल बोहरा ८ हजार ३ सय १ मत ल्याएका छन ।

निर्वाचन क्षेत्र नम्बर १  मा १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेकोमा ९७ हजार १ सय १८ जनाले मताधिकार प्रयोग गरेका थिए । ३५ वर्षीय लम्साल रास्वपाका महामन्त्री समेत हुन् । राजनीतिमा आउनुअघि उनी व्यवस्थापन र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील थिए । उनले रास्वपाको ’नयाँ विकल्प’ को नारालाई रूपन्देहीको स्थानीय विकास र सुशासनसँग जोडेर मतदातामाझ प्रस्तुत गरेका थिए। आफ्नो चुनावी अभियानमा भ्रष्टाचारको अन्त्य, शिक्षा र स्वास्थ्यमा सुधार तथा युवा स्वरोजगारलाई मुख्य एजेन्डा बनाएका थिए ।

इन्जिनियरिङ पृष्ठभूमिका लम्साल निर्वाचन अघिसम्म काठमाडौं महानगरपालिकाका तत्कालीन नगरप्रमुख बालेन्द्र शाहका पूर्वाधार सल्लाहकारका रूपमा कार्यरत थिए ।

५ वटै क्षेत्रमा प्रत्यक्ष तर्फको निर्वाचन पछि अब समानुपतिक तर्फको मतगण्ना सुरु हुनेछ । 


प्रतिक्रिया