आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीले १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्ने स्वीकृति पाएको छ । जसका लागि बजेट सुनिश्चत भएको छ ।
निर्वाचन सुरक्षाका लागि सेना एक महिना अघिबाट परिचालन हुने र ४० दिन सेवा–सुविधा दिने योजना बनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनका लागि बजेट माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरेका थिए । गृहबाट अघि बढेर अर्थ मन्त्रालय पुगेको उक्त फाइल लामो समयसम्म छलफलकै क्रममा रोकिएको थियो । अहिले भने अर्थ मन्त्रालयले बजेट सुनिश्चत गरेको छ । सुनिश्चतसँगै अब निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढने छ ।
नेपाल प्रहरीलाई निर्वाचन प्रहरीका लागि ७ अर्ब १३ करोड २५ लाख ८९ हजार रुपैयाँ बजेट सुनिश्चित गरिएको छ । यो निर्वाचन प्रहरी भर्नाका लागि मात्रै उपलब्ध गराइएको बजेट हो । यो बाहेक प्रहरीको नियमिततर्फ छुट्टै बजेट हुनेछ ।
त्यस्तै, सशस्त्र प्रहरीले भर्ना गर्ने निर्वाचन प्रहरीका लागि पनि बजेट सुनिश्चित गराइएको छ । सशस्त्र प्रहरीलाई ८० करोड ८४ लाख ५३ हजार बजेट सुनिश्चित गराइएको छ । बजेट सुनिश्चित भएसँगै अब दुवै प्रहरी संगठनले जतिसक्दो चाँडो निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाउने छन् ।
नेपाल प्रहरीलाई १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि मन्त्रालयले स्वीकृत दिएको छ । अहिले भने पहिलाको भन्दा सुरक्षा चुनौती जटिल बनेको, फरक अवस्थामा निर्वाचन हुन लागेको, सुरक्षाकर्मीका लुटिएका हतियारहरू बाहिरै रहेको, कारागारबाट भागेका कैदी र थुनुवाका कारण सुरक्षा चुनौती थप जटिल बनेको, मतदाताको संख्या पनि थप भएको जस्ता कारणले निर्वाचन प्रहरीको संख्या बढाएर १ लाख ४९ हजार ९० पु¥याइएको छ ।
यस पटक नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ । नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना भर्ना गर्दा सशस्त्र प्रहरीले भने १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्न स्वीकृति पाएको हो ।
यसका लागि मन्त्रालयले निर्णय गरेर पठाइसकेको छ । ड्युटीमा खटिँदा सशस्त्रको संख्या थोरै भएकाले समस्या हुने भन्दै सशस्त्रले पनि निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो ।
भर्ना संयुक्त रूपमा गर्ने र त्यसमध्ये १५ हजार ११० जना सशस्त्र मातहत रहने गरी सशस्त्रमा जाने र बाँकी नेपाल प्रहरी मातहत रहने गरी नेपाल प्रहरीले गर्ने गरी प्रक्रिया अघि बढेको छ ।
२०७९ को निर्वाचनमा ४० दिनको सेवा–सुविधा दिने गरी निर्वाचन प्रहरी प्रहरी खटाइएको थियो । उनीहरूलाई प्रहरी जवानको सुरु स्केलको तलबअनुसार ४० दिनको सेवा–सुविधा दिइएको थियो । यस पटक पनि ४० दिनकै लागि निर्वाचन प्रहरी भर्ना गर्ने गरी तयारी अघि बढेको छ ।
निर्वाचन प्रहरी भर्ना गर्दा १८ वर्ष उमेर पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने, अवकाश प्राप्त आर्मी, सशस्त्र प्रहरी, नेपाली प्रहरीहरूलाई विशेष प्राथमिकता दिने जस्ता प्रावधान रहने छन् । उनीहरूको तलब–भत्ता तथा सेवा–सुविधा प्रहरी जवान सरह नै हुने बताइएको छ ।
मतदान केन्द्रहरूलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा छुट्याइने र त्यसैअनुसार निर्वाचन प्रहरीसँगै सुरक्षाकर्मी खटाइने छ । पहिलो घेरामा प्रहरी, निर्वाचन प्रहरी रहने छन् । त्यसपछि दोस्रो घेरामा सशस्त्र प्रहरी, निर्वाचन प्रहरीले सुरक्षा प्रदान गर्नेछन् ।
तेस्रो घेरामा भने नेपाली सेनाले सुरक्षा गर्ने छन् । मतदान केन्द्र संवेदनशिलताका आधारमा सुरक्षाकर्मीहरू परिचालन हुन्छन् ।