समाज परिवर्तनका लागि युवाहरूमा सकारात्मक दृष्टिकोण आवश्यक: मन्त्री सन्तोष कुमार पाण्डे

खबर नागरिक

भैरहवा । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले समाजको विकास र स्थिरताका लागि नागरिकहरूमा सकारात्मक दृष्टिकोण  हुनुपर्नेमा जोड दिनुभएको छ। श्री दुर्गा सामुदायिक सेवा केन्द्रको नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाली समाजमा आफ्नै छिमेकी वा नजिकको व्यक्ति नेतृत्वमा पुग्दा असहयोग गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, "हामी आफ्नै समाजका व्यक्तिहरूलाई सम्मान गर्न हिचकिचाउँछौँ। समाजलाई अगाडि बढाउने हो भने छिमेकीको प्रगतिमा खुसी हुन र आफ्नै क्षेत्रको नेतृत्वलाई अपनत्व ग्रहण गर्न सिक्नुपर्छ।"

आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै मन्त्री पाण्डेले आफू कुनै राजनीतिक पृष्ठभूमि भएको परिवारबाट नआएको स्पष्ट पार्नुभयो। 

युवा परिचालनका सन्दर्भमा बोल्दै मन्त्री पाण्डेले केवल उमेरले मात्र युवा भएर नहुने, विचार र व्यवहारमा पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो। "युवा शक्ति विध्वंशका लागि होइन, विकासका लागि हुनुपर्छ," उहाँले भन्नुभयो। पछिल्लो समय बढ्दै गएको लागुऔषध दुर्व्यसनलाई न्यूनीकरण गर्न युवा मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा विशेष जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

आन्दोलनपछि सामुदायिक प्रहरी र स्थानीय प्रशासनको मनोबल केही घटेको उल्लेख गर्दै उहाँले प्रहरी पनि हाम्रै समाज र परिवारको हिस्सा भएको बताउनुभयो। सीमित जनशक्तिका भरमा प्रहरीले मात्रै शान्ति सुरक्षा कायम गर्न नसक्ने भएकाले नागरिक समाजले प्रहरीलाई सहयोग र संरक्षण दिनुपर्ने उहाँको तर्क थियो।

स्थानीय मन्दिर तथा पूर्वाधार निर्माणका विषयमा बोल्दै मन्त्री पाण्डेले आगामी वैशाख २० गतेभित्र इन्जिनियरमार्फत लागत अनुमान निकाल्न आग्रह गर्नुभयो। बजेटको अभाव हुन नदिने र आफ्नो सामर्थ्यले भ्याएसम्म विकासका कार्यमा निरन्तर खटिने उहाँले बताउनुभयो।


प्रतिक्रिया