रुपन्देही । घाम नलाग्ने बिहान, बाक्लो हुस्सुले ढाकिएका सडक र आगो ताप्दै बसेका सर्वसाधारण — यतिबेला रुपन्देही जिल्लाको दैनिकी चिसोले निर्धारण गरिरहेको छ। पछिल्ला केही दिनदेखि बढेको चिसोका कारण जनजीवन कस्टकर बन्दै गएको छ। विशेषगरी वृद्धवृद्धा, बालबालिका र विपन्न वर्गका नागरिक न्यानोको अभावमा थप जोखिममा परेका छन्। चिसोले केवल दैनिकी मात्रै होइन, स्वास्थ्यसमेत चुनौतीमा पार्न थालेको छ।
यसैबीच, भैरहवास्थित भीम अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. वर्षा थापाले चिसोबाट जोगिन सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँका अनुसार चिसो मौसममा सानो लापरबाहीले पनि गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
“चिसोका कारण वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू बढी जोखिममा हुन्छन्। न्यानो कपडा लगाउने, बिहान–साँझ अत्यधिक चिसोमा बाहिर ननिस्कने र तातो पानी तथा झोलिलो खाना सेवन गर्नुपर्छ।” मेसु भन्नु हुन्छ ।
त्यस्तै, कन्सल्टेन्ट फिजिसियन डा. विनोद खनालले हुस्सु र चिसोका कारण श्वासप्रश्वाससम्बन्धी रोग बढ्ने जोखिम रहेको बताउँदै समयमै उपचार र सावधानी अपनाउन सुझाव दिनुभएको छ।
उहाँका अनुसार “यो मौसममा रुघाखोकी, दम र निमोनियाजस्ता समस्या बढ्न सक्छन्। लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा जानुपर्छ।”
यसैगरी, चिसोको प्रभाव बढ्दै गएपछि रोहिणी गाउँपालिकाले पनि राहतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ। रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवका अनुसार पालिकाभित्र चिसोबाट बढी प्रभावित विपन्न तथा असहाय नागरिकलाई लक्षित गरी दाउरा वितरण र कम्बल उपलब्ध गराउने काम भइरहेको छ।
तर स्थानीयवासीहरूले भने राहत वितरण पालिकाले दाबी गरेअनुसार प्रभावकारी नभएको गुनासो गरेका छन्। उनीहरूका अनुसार चिसोबाट बढी प्रभावित बस्ती र परिवारसम्म राहत अझै पुग्न नसकेको छ।
मौसमविद्हरूले चिसो अझै केही दिन कायमै रहने अनुमान गरेका छन्। यसले रुपन्देही जिल्लामा चिसोको असर थप बढ्न सक्ने देखिएको छ। त्यसैले सर्वसाधारणले स्वास्थ्यकर्मीको सुझाव पालना गर्दै चिसोबाट जोगिने उपाय अपनाउनुका साथै स्थानीय तहले पनि राहत कार्यलाई थप प्रभावकारी बनाउनु आवश्यक देखिन्छ।