क्यानसरको सचेतना जगाउन बुद्ध जन्मस्थलमा पदयात्रा

खबर नागरिक

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा क्यानसर सचेतनाका लागि पदयात्रा गरिएको छ । क्यान्सरको जोखिम दिनप्रतिदिन बढ्दै जानुको कारण जनचेतना अभाव समेत रहेकोले उजागर गर्दै क्यान्सरको कारण, रोकथाम र समयमै पहिचानबारे सचेत गराउने उद्देश्यले लुम्बिनीमा पदयात्रा गरिएको हो । 

काठमाडौं क्यान्सर अस्पतालको आयोजनामा विभिन्न सन्देश सहितको प्लेकार्ड लिएर उपस्थित विद्यार्थी, आमासमूह, लुम्बिनी होटल संघ, लुम्बिनी सास्कृतिक नगरपालिका, अस्पताल परिवार,स्थानीय लगायतको उपस्थितीमा लुम्बिनीको शान्ति दिप देखि मायादेवी मन्दिर हुदै राजकीय विहार सम्म पद यात्रा गरि सचेतनामुलक कार्यक्रम सहित सम्पन्न भएको अस्पतालकी प्रशासन प्रमुख वर्षा कोइरालाले बताइन । कार्यक्रममा सेन्टरकी प्रशासन प्रमुख वर्षा कोइरालाले नेपालमा क्यान्सर उपचार सेवाको विस्तार हुँदै गएको र विशेषज्ञ उपचारको आवश्यकता अझ बढ्दै गएको उल्लेख गरिन ।


यो अभियान न्युजिल्यान्डबाट एक क्यान्सर पीडितद्वारा सुरु गरिएको र पूर्ण रूपमा क्यान्सरसम्बन्धी सचेतनाका लागि समर्पित संस्था भएको जानकारी दिए । नेपालमा भने काठमाडौं क्यान्सर अस्पतालले यसको नेतृत्व गर्दै आएको छ । उनले कार्यक्रमको मुख्य उद्देश्य जनचेतना फैलाउनु रहेको उल्लेख गर्दै क्यान्सरको प्रारम्भिक चरणमै पहिचान गर्न सकेमा उपचार सम्भव हुने भएकाले क्यान्सर के हो, कसरी बच्न सकिन्छ र सुरुवाती लक्षण कसरी चिन्ने भन्ने विषयमा सचेतना आवश्यक रहेको प्रशासन प्रमुख कोइरालाल भनिन । 

लुम्बिनी शान्तिको सन्देश छर्ने ऐतिहासिक ठाँउ र धेरै पर्यटक आउने महत्वपूर्ण ठाउ भएकोले यहाँको प्रचार प्रसारका साथै क्यान्सरबारे सबैमा सकारात्मक सन्देश जाओस भन्नका लागि लुम्बिनीमा कार्यक्रम गरिएको काठमाण्डौ क्यान्सर सेन्टरका अध्यक्ष सिमित सापकोटाले जानकारी दिए । 

पहिले क्यान्सरको नाम सुन्नासाथ मानिसहरू डराउने, लुकाउने र नबताउने प्रवृत्ति रहे पनि अहिले त्यस्तो अवस्था नरहेको उल्लेख गर्दै उनले क्यान्सरबारे खुलेर कुरा गर्न र समयमै जाँच गराउन सचेतना आवश्यक रहेको बताए । उनले क्यान्सरको प्रमुख कारणमध्ये धुम्रपान तथा सुर्तीजन्य पदार्थ रहेको उल्लेख गर्दै यस्ता बानीबाट टाढा रहन जनचेतना फैलाउने उद्देश्यले यो तेस्रो पटक कार्यक्रम आयोजना गरिएको बताए । 


सचेतनाको कमिले अहिले क्यानसर तिव्र गतिमा बढिरहेको बेला यसबारे जानकारी गराउन, क्यान्सर रोगबाट बच्ने उपाय र विधि बारेमा चेतना जगाउने, क्यान्सरको कारणबारे जानकारी दिदै रोकथामको उपायको बारे चर्चा गरिएको हो । आजैकै दिन ६९ वटा देशमा २५० वटा शहरमा यो कार्यक्रम भइरहेको अध्यक्ष सापकोटाले भने ।

कार्यक्रमले सर्वसाधारणहरूमा क्यान्सर रोगको रोकथाम, समयमै पहिचान तथा उपचारको आवश्यकताको सन्देश प्रवाह गरेको छ । जीवनशैलीमा सानो सुधार तथा नियमित स्वास्थ्य परीक्षणद्वारा क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ । क्यान्सरको उपचार सम्भव छ डराउनु पर्ने स्थिती छैन भनदै अस्पतालले जागरुकताका अभियानहरू निरन्तर सञ्चालन गर्दै आएको छ । 


पदयात्राको पूर्व सन्ध्यामा अस्पतालले उपलब्ध गराउदै आएको उपचार सेवा, चुनौती र आगामी सम्भावना सहित क्यान्सर उपचार र व्यवस्थापनमा भएका नयाँ प्रविधि, उपचार विधिबारे रुपन्देहीका चिकित्सकहरूसँग संवाद गरिएको थियो । चिकित्सकहरूबीच अनुभव आदान–प्रदानमा सहयोग पुग्ने अपेक्षा सहति अस्पतालले नेपालमै अत्याधुनिक प्रविधिमार्फत सुरक्षित क्यान्सर उपचार दिदै उपचारका लागि विदेशीने बाध्यता हटाउदै गएको जानकारी दिएको छ ।

अन्काेलाेजी प्याथोलोजीको भूमिकाबारे डा. राकेश पाठकले क्यान्सरको सही पहिचान र उपचार योजनामा प्याथोलोजीको महत्वबारे,  डा. दीपक यादवले टाउको तथा घाँटी क्यान्सर उपचारका नयाँ अभ्यास र प्रविधिबारे, डा. दीप लामिछानेले शल्य अन्काेलाेजी अधावधिक जानकारी  र  शल्यक्रियामार्फत क्यान्सर उपचारमा भएका प्रगति र चुनौतीबारे, डा. सुरेश कायस्थले स्त्रीरोग अन्काेलाेजी क्षेत्रमा भएका नयाँ उपचार पद्धतिबारे  र डा. सुभाष पण्डितले क्लिनिकल अन्काेलाेजी अधावधिक विषयमा प्रस्तुति दिएका थिए । 


प्रतिक्रिया