श्रीराम जानकी हनुमान मन्दिरमा जेष्ठ नागरिक लक्षित नियमित स्वास्थ्य शिविर सुरु

खबर नागरिक

भैरहवा । स्थानीय जेष्ठ नागरिक तथा विपन्न समुदायलाई लक्षित गरी श्रीराम जानकी हनुमान मन्दिर, सिनपा–४, रुपन्देही मा मंगलबारदेखि नियमित स्वास्थ्य शिविर सुरु गरिएको छ। मन्दिर सेवा समितिको आयोजनामा सुरु गरिएको उक्त शिविर हरेक महिनाको पहिलो मंगलबार मन्दिर परिसरमै सञ्चालन हुने समितिले जनाएको छ। 

शिविरमा १८ जना चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो भने करिब २०० जना स्थानीय नागरिक, विशेषगरी जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए।

स्वास्थ्य शिविरको आयोजना श्रीराम जानकी हनुमान मन्दिर सेवा समिति, सिनपा–४ ले गरेको हो। कार्यक्रममा तालकेश्वर कान्दु सह–आयोजक, डा. बैजनाथ अग्रहरी कार्यक्रम संयोजक तथा नरेन्द्र प्रसाद रौनियार कार्यक्रमका अध्यक्ष रहनुभएको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रम अध्यक्ष नरेन्द्र प्रसाद रौनियार ले रोग लागेपछि मात्रै होइन, सामान्य अवस्थामा पनि नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले जेष्ठ नागरिक तथा विपन्न वर्गका लागि यस्ता शिविर अत्यन्त उपयोगी हुने उल्लेख गर्नुभयो।

त्यस्तै भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. वर्षा थापा ले सामान्य स्वास्थ्यलाई बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्ने भन्दै समयमै स्वास्थ्य जाँच र सचेतना आवश्यक रहेको धारणा राख्नुभयो।

यसैगरी शिविरमा उपचार गराएका वडा नं. ४ का स्थानीय जस्को अवस्था कम्जोर रहेको र विपन्नको औषधि खर्च वडा नं. ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला) ले उठाउने बताए । सामान्य स्वास्थ्यप्रति ध्यान दिनु सबैको दायित्व भएको उल्लेख गर्दै, यस्ता स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्ने बताउनुभयो।

कार्यक्रममा अन्नत कुमार शर्मा, कुल प्रसाद न्यौपाने लगायतले आ–आफ्नो धारण राखेका थिए ।

आयोजक संस्थाले जेष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिने जनाएको छ। 

प्रतिक्रिया