माघ ४ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। यसअघि रुपन्देही–२ बाट प्रतिस्पर्धा गर्दै आएका पौडेल अब पाल्पा–२ बाट उम्मेदवार बन्ने भएका हुन्।
च्यासलमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पौडेलको निर्वाचन क्षेत्र परिवर्तन आवश्यक भएको तर्क अघि सारेका थिए। बैठकमा ओलीले पहिलेको क्षेत्रमा पौडेललाई चुनौतीपूर्ण अवस्था देखिएकाले नयाँ क्षेत्र रोजिएको बताएका थिए।
पाल्पा–२ बाट अघिल्लो निर्वाचनमा ठाकुर गैरे विजयी भएका थिए। तर पौडेललाई सोही क्षेत्रको टिकट दिइएपछि गैरे यसपटक टिकटबाट वञ्चित भएका छन्। यस निर्णयप्रति केही पदाधिकारीले असहमति जनाउँदै यसले गैरेमाथि अन्याय हुनुका साथै लुम्बिनी प्रदेशमा पार्टी कमजोर देखिने सन्देश जाने बताएका थिए।
यद्यपि, पौडेल स्वयं पाल्पा–२ बाट चुनाव लड्न इच्छुक भएपछि प्रस्तावअनुसार निर्णय गरिएको बैठक स्रोतले जनाएको छ।
बैठकले पार्टी सचिव भानुभक्त ढकालको निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने निर्णय गरेको छ। यसअघि मोरङ–३ बाट उम्मेदवार बन्दै आएका ढकाललाई तेह्रथुमबाट टिकट दिइएको हो।
त्यस्तै, अर्का सचिव राजन भट्टराईले काठमाडौं–४ बाट निर्वाचन नलड्ने निर्णय सुनाएको पनि बैठक स्रोतले जानकारी दिएको छ।