यातायात कार्यालयमा प्रहरीको ‘अपरेसन’: सेवाग्राही ठग्ने विचौलिया पक्राउ

खबर नागरिक

भैरहवा । यातायात व्यवस्था कार्यालय, बुटवलमा सेवाग्राहीलाई विभिन्न बहानामा दुख दिने र छिटो काम गरिदिन्छौँ भन्दै रकम असुल्ने कार्यमा संलग्न दुई जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बिहीबार दिउँसो कार्यालय परिसरबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा घर भएका २५ वर्षीय सरोज खनाल र गुल्मीको छत्रकोट गाउँपालिका घर भई हाल बुटवल–१३ बेलबासमा बस्ने ३७ वर्षीया कुसुम मरासिनी रहेका छन। उनीहरूले लामो समयदेखि यातायात कार्यालय वरपर बसेर सोझा सेवाग्राहीलाई प्रलोभनमा पारी आर्थिक लाभ लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनीहरूले सरकारी दस्तुरभन्दा बढी शुल्क लिई, अवैध रूपमा रसिद समेत काटेर बिचौलियाको काम गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी बढेको र सेवाग्राहीले सास्ती खेप्नुपरेको जनगुनासो बढेपछि इलाका प्रहरी कार्यालय बुटवलले विशेष निगरानी बढाएको थियो। प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार, उनीहरूलाई सादा पोशाकमा खटिएका प्रहरीले निगरानी गरिरहेका थिए। सेवाग्राहीसँग मोलमोलाई गर्दै गरेको अवस्थामा फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै जनालाई अहिले इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ।

प्रहरीले सरकारी कार्यालयभित्र हुने कुनै पनि किसिमको भ्रष्टाचार र अनियमितता सह्य नहुने चेतावनी दिएको छ। सेवा प्रवाहलाई पारदर्शी र झन्झटमुक्त बनाउनका लागि कार्यालयले पछिल्लो समय केही सुधारका कदमहरू समेत चालेको छ ।

बिचौलिया र कर्मचारीबीच हुन सक्ने सम्भावित साँठगाँठलाई तोड्न प्रहरीले सादा पोशाकका टोलीहरूलाई नियमित परिचालन गर्ने जनाएको छ। प्रहरी प्रशासनले सर्वसाधारणलाई आफ्ना कागजात र प्रक्रियाका बारेमा सिधै कार्यालयका कर्मचारी वा सहायता कक्षमा सम्पर्क राख्न र कसैलाई पनि अनावश्यक कमिसन वा रकम नबुझाउन आग्रह गरेको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय चितवनले यहाँको मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने र सर्वसाधारणलाई दुःख दिने २० जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज मालपोत कार्यालय चितवनमा सेवा लिन आएका सर्वसाधारणलाई अवरोध गर्ने १६ जना बिचौलियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

खनालका अनुसार भरतपुर अस्पताल अगाडि बसी आवतजावत गर्ने यात्रीहरूलाई दुःख हैरानी दिने चार जना सवारी साधनका चालक तथा सहचालकहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेको खनालले बताउनुभयो। सार्वजनिक सेवालाई मर्यादित बनाउन र बिचौलियाको प्रभाव कम गर्न प्रहरीले यस्तो कदम चालेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया