नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नाराका साथ घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणापत्रमा आउँदो पाँच वर्षभित्र देशको अर्थतन्त्रको आकार एक सय खर्ब र १० वर्षमा दुई सय खर्ब पुर्याउने महत्वकांक्षी लक्ष्य समेटिएको छ । यस्तै पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने प्रतिबद्धता पनि घोषणापत्रमा छ ।
सरकार गठन लगत्तै शुरु गर्ने ११ वटा ग्यारेन्टीसहितका कार्यक्रम एमालेले अघि सारेको छ । जसअन्तर्गत १८ देखि २८ वर्षका युवालाई वार्षिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपमा लाग्नेलाई १० हजार डलर बराबरको ‘डलर कार्ड’ र विद्यार्थीलाई २० लाखसम्मको निर्ब्याजी ऋण दिने योजना छ ।
न्यूनतम पारिश्रमिक मासिक २५ हजार पुर्याउने र वैदेशिक रोजगारीका श्रमिकलाई वार्षिक पाँच हजार बोनस दिने प्रतिबद्धता पनि घोषणापत्रमा छ । पूर्वाधारतर्फ एमालेले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, सुरुङ मार्ग र ठूला शहरमा मेट्रो तथा मोनोरेल सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्याएको छ । राजनीतिक स्थिरता, सुशासन र असंलग्न परराष्ट्र नीतिलाई मुख्य प्राथमिकतामा राखिएको घोषणापत्रमा उल्लेख छ ।