काठमाडौ, कात्तिक १७। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार देशका ७५ मध्ये डोल्पा र मनाङबाहेक सबै जिल्लामा डेङ्गु फैलिएको छ। हालसम्म देशभर ७,०७५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको र ६ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी गण्डकी प्रदेशमा १,७७५, बागमतीमा १,७६३, लुम्बिनीमा १,१६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५०० र मधेश प्रदेशमा १४७ जना संक्रमित भेटिएका छन्। एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सफा पानी जम्मा हुने भाँडोमा पनि फैलिन सक्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार उच्च ज्वरो, जोर्नी दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा राता बिमिरा देखिनु, वाकवाकी वा वान्ता हुनु डेङ्गुका मुख्य लक्षण हुन्। उनले चिकित्सकको सल्लाहबिना औषधी नखान र लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्। चिकित्सकहरूका अनुसार लामखुट्टेको टोकाइबाट जोगिनु नै डेङ्गु नियन्त्रणको मुख्य उपाय हो। कात्तिकसम्म जोखिम रहने भएकाले पानी जम्न नदिन र सावधानी अपनाउन सल्लाह दिइएको छ।