भेदभावमुक्त समाज निर्माणका लागि भैरहवामा अटिजम सचेतना कार्यक्रम

खबर नागरिक

​​भैरहवा, चैत १९ । १९ औँ विश्व अटिजम दिवसको अवसरमा अटिजम भएका बालबालिकाप्रति समाजमा विद्यमान भेदभाव अन्त्य गरी समावेशी दृष्टिकोण विकास गर्ने उद्देश्यले भैरहवामा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजना तथा हेभेन्ली गार्डेन किड्स क्याम्पसको प्रस्तुतिमा बुधबार आयोजित उक्त कार्यक्रममा अटिजम भएका बालबालिकाको अवस्था, उनीहरूले भोग्नुपरेका चुनौती र समाजको दायित्वबारे गहन छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष नेत्र आचार्यले विद्यालय र समाजमा अझै पनि अटिजम भएका बालबालिकामाथि भेदभाव र दबाबको अवस्था रहेको औँल्याउँदै मानवताको नाताले उनीहरूको पीडा बुझेर समावेशी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

​कार्यक्रम संयोजक रचना क्षेत्रीले अटिजम कुनै सरुवा वा साधारण रोग नभई मस्तिष्कको विकाससँग सम्बन्धित एक विशेष अवस्था भएको स्पष्ट पार्दै समयमै पहिचान र सहयोग पाए बालबालिकाको जीवन सहज बन्ने बताउनुभयो।

यस्तै, अटिजम विज्ञ तथा थेरापिष्ट समिद कातिला श्रेष्ठले यस वर्षको विश्वव्यापी नारा "अटिजम र ह्युमानिटी (मानवता र अटिजम)" रहेको जानकारी दिँदै अटिजम भएका व्यक्तिलाई केवल सहानुभूति मात्र नभई समान अवसर प्रदान गर्नु आजको आवश्यकता रहेको धारणा राख्नुभयो।

​नेपाल सरकारले अटिजमलाई अपाङ्गताको सूचीमा राखेर रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका परिचयपत्रको व्यवस्था गरेको जानकारी दिँदै कार्यक्रममा अटिजम पहिचानका चुनौतीबारे पनि चर्चा गरिएको थियो। रगत परीक्षण वा स्क्यानबाट पत्ता लगाउन नसकिने यो अवस्थालाई बालबालिकाको व्यवहार, सञ्चार शैली र सामाजिक अन्तरक्रियाको आधारमा मात्र ठम्याउन सकिन्छ।

आँखामा आँखा नजुधाउने, एक्लै खेल्न रुचाउने र एउटै व्यवहार बारम्बार दोहोर्‍याउने जस्ता लक्षण देखिने यस्ता बालबालिकालाई १८ महिनादेखि ४ वर्षभित्र पहिचान गर्न सके उनीहरूको वृत्ति विकास प्रभावकारी हुने विज्ञहरूको सुझाव छ। कार्यक्रमका सहभागीहरूले अटिजम भएका बालबालिकालाई हेर्ने दृष्टिकोण बदल्न र उनीहरूलाई समाजको मूल प्रवाहमा ल्याउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्।

प्रतिक्रिया