जनताको विश्वासमा खरो उत्रने डा. लेखजंग थापाको कटिबद्धता

खबर नागरिक

भैरहवा, माघ २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार डा. लेखजंग थापाले जनताको विश्वासमा आफु खरो उत्रने बताएका छन ।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै यसपटकको चुनाव पार्टीका लागि अवसरसँगै जिम्मेवारी थप भएको पनि महसुस भएको बताए । जेन–जी पुस्तालाई सम्मान गर्दै रास्वपा अगाडि बढिरहेको उनको भनाइ छ। “जेन–जी पुस्ताको मर्म हामी सबैले बुझेका छौँ। उनीहरूको मुख्य माग भनेको भ्रष्टाचारको अन्त्य हो,” उनले भने,

“रास्वपा भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाइरहेको छ र जेन–जीको माग सम्बोधन गर्दै उनीहरूको मर्मअनुसार अघि बढ्नेछ।” घरदैलो अभियानका क्रममा जनताले परिवर्तन चाहेको स्पष्ट रूपमा महसुस भएको र देशमै परिवर्तन ल्याउने उनले दावी गरे । 

साथै, उनले स्वास्थ्य क्षेत्रमा पनि उदाहरणीय परिणाम ल्याएर देखाउने प्रतिबद्धता जनाए। डा. थापाले नेपालमै दक्ष तथा विशेषज्ञ चिकित्सक उत्पादन गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताए। 

आफू नेतृत्व क्षमतामा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै डा. थापाले चिकित्सक सेवा कहिल्यै नछोडेको र आगामी दिनमा पनि सबैलाई मार्गदर्शन गर्दै निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरे। 

उनले आधारभूत स्वास्थ्य चौकीदेखि ठूला अस्पतालसम्म छिटो, सहज र प्रभावकारी सेवा पु¥याउने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे। गाउँ तथा दुर्गम क्षेत्रमा अझै पनि स्वास्थ्य सेवाको पहुँच कमजोर रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्नु आफ्नो मुख्य एजेन्डा भएको बताए।

डा. थापाले विज्ञ जनशक्ति उत्पादनमार्फत नेपाललाई स्वास्थ्य सेवामा आत्मनिर्भर बनाउने लक्ष्यसहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको पनि बताए।

“यसपटकको चुनाव केवल चुनाव मात्र होइन, एउटा क्रान्ति हो,” उनले भने। समाजले आफूलाई बनाएको व्यक्ति भएको उल्लेख गर्दै देशलाई दीर्घकालीन रूपमा बदल्ने चाहना रहेको बताए।


प्रतिक्रिया