भैरहवा । परिश्रमिक सहित विभिन्न मागहरु राख्दै आन्दोलित नर्सहरु सेवामा फर्केका छन । भैरहवाको युनिभर्सल मेडिकल कलेज सहितका निजि अस्पतालहरुका नर्स र प्यारामेडिक्सहरु कार्तिक २ गते देखि आन्दोलित रहेका थिए । सम्पूर्ण सेवा अवरुद्ध गरि विभिन्न १२ बुदे माग सहित आन्दोलनमा उत्रेका उनीहरुको माग सम्बोधन भएपछि आइतबारबाट निजि अस्पताल सहित युनिभर्सल मेडिकल कलेजको सेवा पूर्ण रुपले सुचारु भएको छ ।
युनिभर्सल मेडिकल कलेजका २ सय २० जना कर्मचारी आन्दोलित बनेपछि इमरजेन्सी सहितको सबै सेवा अवरुद्ध हुन पुगेको थियो । ईतिहासमै पहिलो पटक इमरजेन्सी सहितको सेवा अवरुद्ध यो आन्दोलनमा भएको थियो । आन्दोलनको दैरान स्वास्थ्य सेवाको अधिकारबाट नागरिक बञ्चित भएका थिए भने देशले अपुर्णीय क्षति व्योहोरेको थियो । सरकार र आन्दोलनरत पक्षबीच भएको सहमतिले कार्यदलको समझदारी अनुसार सेवा सुविधा दिने गरि सहमति जुटेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
युनिभर्सल मेडिकल कलेजका प्रमुख वित्तिय अधिकृत सुरज पौडेलले ४ बुदे माग सहित सुर भएको आन्दोलन १२ बुदे माग सम्म पुगेको थियो, अस्पताल प्रशासनले ११ वटा बुदालाई सम्बोधन गरेपनि सरकार र देशव्यापी आन्दोलित नर्सहरु बीचको सहमतिले सबै माग सम्बोधन भएको जानकारी दिए ।
मेडिकल कलेजका आन्दोलित सबै पक्षलाई भेला गरि माग सम्बोधनको जानकारी गराएपछि २ बजेबाट सबै कर्मचारी कार्यस्थलबाट पूर्ण रुपमा सेवा सुचारु गरेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको आइतबारदेखि नर्सहरूको आन्दोलनका कार्यक्रम फिर्ता लिई सरकारले आन्दोलनका क्रममा उठाएका कार्यान्वयनका लागि सहमति भएको होे ।
सहमति अनुसार निजी मेडिकल कलेज तथा ठूला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्ण रूपमा सरकारी पाँचौ तह रू ३४ हजार ७३० न्यूनतम पारिश्रमिक तलब दिने सहमति भएको छ । यसैगरी निजी अस्पतालले क्षमताअनुसार हाललाई ८० प्रतिशत तलब दिनुपर्ने र एक महिनामा अस्पतालको वर्गीकरण गरेर सरकारी सरह तलब पु¥याउने सहमति भएको छ । यस विषयमा अध्ययन र आवश्यक सिफारिस गर्न गठित कार्यदलले एक महिनाभित्र प्रतिवेदन पेस गरेपछि बाँकी अस्पतालले पनि सरकारी मापदण्डअनुसार पूर्ण तलब दिनुपर्नेछ । यसअघि सरकारले नर्सका माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन गरेको थियो । मन्त्रालय र नर्सहरूवीच ४ खण्डमा २३ बुँदे सहमति भएको हो ।
नेपाल सरकारले तोके अनुसारको तलब सुविधा दिनुपर्ने, अतिरिक्त कामको थप भत्ताको व्यवस्था गर्नुपर्ने, करार नियुक्ति सम्झौता गरेर मात्र सेवामा लगाउनुपर्ने, ज्यालादारीमा काममा लगाउन नपाइने, सक्कल शैक्षिक प्रमाणपत्र अस्पतालले राख्न नपाइने, अनुभवको पत्र उपलब्ध गराउनुपर्ने, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने, मेडिकल कलेजमा पर्याप्त जनशक्ति व्यवस्थापन गर्नुपर्ने, श्रम ऐन र स्वास्थ्य सेवा मापदण्ड अनुसार उचित ड्युटी समय, विश्राम र बिदाको सुविधा दिनुपर्ने, नर्स तथा पारामेडिक्स हरूलाई स्वास्थ्य सेवाको आधारमा मान्यता र सम्मान दिनुपर्ने, मेडिकल कलेजभित्र पर्याप्त चेन्जिङ रूम, नर्सिङ रूम र लकरको व्यवस्था हुनुपर्ने लगायतका मागहरू युनिभर्सल मेडिकल कलेजका आन्दोलित पक्षले राखेका थिए ।