रुपन्देही । रुपन्देही जिल्लामा इलेक्ट्रिक सवारीसाधनको संख्या तीव्र रूपमा बढेसँगै ती सवारी संलग्न सडक दुर्घटनासमेत बढ्दै गएका छन्। औद्योगिक तथा व्यापारिक गतिविधि विस्तार भइरहेका कारण दैनिक हजारौँ सवारी गुड्ने जिल्लामा सडकको क्षमता, पार्किङ अभाव र कमजोर ट्राफिक व्यवस्थापनले दुर्घटनाको जोखिम थप बढाएको देखिन्छ।
जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले सार्वजनिक गरेको विवरणअनुसार असोज १५ देखि मंसिर १५ सम्मको दुई महिनाको अवधिमा इलेक्ट्रिक सवारी संलग्न ३५ वटा सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन्।
असोज १५ देखि कात्तिक १५ सम्मको एक महिनामा १५ वटा दुर्घटना भएका थिए। ती दुर्घटनामा २ वटा जिपकार, १० वटा टेम्पो र २ वटा स्कुटर संलग्न थिए। यस अवधिमा २ पुरुष र १ महिला गरी ३ जनाको मृत्यु भएको थियो भने ३ जना गम्भीर र १५ जना सामान्य घाइते भएका थिए।
त्यसपछि कात्तिक १५ देखि मंसिर १५ सम्म दुर्घटनाको संख्या बढेर २० पुगेको छ। यस अवधिमा ३ वटा जिपकार, १२ वटा टेम्पो र ५ वटा स्कुटर दुर्घटनामा परेका थिए। ती दुर्घटनामा ३ पुरुषको ज्यान गएको छ भने ५ जना गम्भीर र २० जना सामान्य घाइते भएका छन्।
जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका वरिष्ठ नायव निरीक्षक ज्ञानेन्द्र शर्माका अनुसार चालकको लापरवाही, तीव्र गति र ट्राफिक नियम उल्लंघन नै दुर्घटनाका मुख्य कारण हुन्। सडक संरचना, पार्किङको अभाव र ट्राफिक प्रणाली कमजोर हुँदा समस्या झन जटिल बन्दै गएको उनले बताए।
यसैबीच हालै सम्पन्न जेन–जि आन्दोलनका क्रममा बाह्य समूहको हिंसात्मक गतिविधिबाट जिल्ला ट्राफिक कार्यालय रुपन्देहीमा आगजनी, तोडफोड र चोरी भएको थियो। उक्त घटनामा राडर गन, कम्प्युटर, सीसी क्यामेरा, मोटरसाइकल र ब्याट्रीलगायत सामग्रीमा क्षति पुगेको र पुराना डिजिटल तथ्यांकसमेत नष्ट भएको कार्यालयले जनाएको छ। त्यस कारण हाल सार्वजनिक तथ्यांक सीमित अवधिको मात्र रहेको बताइएको छ।
ट्राफिक कार्यालयले सबै सवारी चालकलाई गति नियन्त्रणमा राख्न, ट्राफिक नियम कडाइका साथ पालना गर्न र हेलमेटलगायत सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ।