भैरहवामा गजलको मधुर साँझ, दर्शक मन्त्रमुग्ध

खबर नागरिक

भैरहवा, २४ माघ — रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा शुक्रबार आयोजना गरिएको गजल साँझ कार्यक्रमले साहित्य र संगीतप्रेमीलाई विशेष सांगीतिक अनुभव दिलाएको छ। कार्यक्रममा चर्चित गजल गायक तथा संगीतकार थानेश्वर गौतमले आफ्ना लोकप्रिय गजल प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाउनुभयो।

गौतमले ‘बेचेर सपना मैले रात किनेको छु’  ‘तिम्रा यादहरु मलाई भेटेर जान्छन्’ र ‘खतरा धेरै भो’ लगायतका गजल गाउनुभयो। उहाँको प्रस्तुतिमा दर्शकले गाएर र नाचेर साथ दिएका थिए, जसले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।

होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डेका अनुसार साहित्य, संगीत र सद्भावमार्फत सबैलाई एकै थलोमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। होटललाई निरन्तर सहयोग गर्ने शुभेच्छुक, ग्राहक र साझेदारप्रति आभार व्यक्त गर्न पनि यस्तो विशेष साँझ राखिएको उहाँले बताउनुभयो। आपसी सम्बन्ध विस्तार र भविष्यमा सहकार्यको वातावरण निर्माण गर्नु कार्यक्रमको अर्को लक्ष्य रहेको उहाँको भनाइ छ।

कार्यक्रममा करिब २५० जनाको उपस्थिति रहेको होटलका सिईओ सुशान्त त्रिपाठीले जानकारी दिनुभयो। सिद्धार्थनगर–८ बसडिलवामा रहेको चारतारे एसियन बुद्ध होटलले सामाजिक उत्तरदायित्वअन्तर्गत साप्ताहिक सरसफाइलगायत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको अपरेशन म्यानेजर जे.पी. सुवेदीले बताउनुभयो।


प्रतिक्रिया