भैरहवा । सिद्धार्थनगर नगरपालिकाले आफ्नो नवनिर्मित अत्याधुनिक प्रशासकीय भवनको विधिवत् उद्घाटन गरेको छ। सोमबार एक भव्य समारोहका बीच वास्तु पूजासहित नगरबासीको उपस्थितिमा नयाँ भवनबाट औपचारिक सेवा शुभारम्भ गरिएको हो। २०७८ सालमा शिलान्यास गरिएको यो भवनले विभिन्न समयका निर्वाचन र प्राविधिक ढिलाइलाई चिर्दै अन्ततः पूर्णता पाएको छ।
प्रमुख प्रशासकीय अधिकृत जनक थापाका अनुसार यस भवनको कुल निर्माण लागत २३ करोड ९२ लाख ६९ हजार ३५३ रुपैयाँ रहेको छ। २०७८ असार २४ गते स्काई रामसागर जेभीसँग निर्माण सम्झौता गरिएको यो भवन निर्धारित समयभन्दा केही ढिलो गरी २०८२ असोज ३ गते सम्पन्न भएको थियो। करिब ४ कठ्ठा क्षेत्रफलमा फैलिएको यस भवनमा २६ वटा कार्यकक्ष, दुईवटा लिफ्ट, कार्यपालिका तथा नगरसभा हल रहेका छन। सुरक्षाका लागि भवनमा फायर हाइड्रेन्ट, स्मोक डिटेक्टर, हुटर अलार्म र लाइटिङ प्रोटेक्टर रड जडान गरिएको छ भने १४४५ वर्गमिटरको बेसमेन्टमा २० वटा कार र १३० वटा बाइक पार्किङ गर्न सकिने सुविधा छ।
प्रशासनिक सेवालाई झन्झटमुक्त बनाउन नगरपालिकाले सेवा प्रवाहको शैलीमा ठूलो परिवर्तन ल्याएको छ। अब धेरैजसो सेवाहरू भवनको भुइँतला बाटै प्रदान गरिने लक्ष्य राखिएको छ। प्रमुख प्रशासकीय अधिकृत थापाले कर्मचारी र जनप्रतिनिधि मिलेर प्रविधिको अधिकतम प्रयोग गरी नागरिकलाई प्रभावकारी सेवा दिनु नै अबको मुख्य प्राथमिकता रहेको बताए सोही अवसरमा नगरपालिकाले विकास र सुशासनमा टेवा पुर्याउने पत्रकार, साहित्यकार, खेलाडी, उत्कृष्ट विद्यार्थी र कर्मचारीहरूलाई सम्मान समेत गरेको थियो।
नगर प्रमुख ईश्तियाक अहमद खानले सिद्धार्थनगरलाईक्लिन, ग्रीन र इको-फ्रेन्डली सिटी बनाउने संकल्प व्यक्त गर्दै लक्ष्य पुरा गर्ने तर्फ उन्मुख भएकाे बताए। उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो र पूर्ण रूपमा सञ्चालन भए मात्र यस क्षेत्रको आर्थिक विकास सम्भव हुने बताउँदै सिद्धार्थनगरलाई छिमेकी पालिकाहरूसँग मिलाएर महानगरपालिका बनाउनुपर्नेमा जोड दिए।
उपप्रमुख अधिकारीले अधिकारसँगै कर्तव्यको ख्याल गर्न नगरवासीलाई आग्रह गरिन । पूर्व नगरप्रमुख हरिप्रसाद अधिकारीले पूर्वाधार तयार भइसकेकाले अब नागरिकले सामाजिक सञ्जालमा गुनासो गर्नुभन्दा कार्यालयमै आएर रचनात्मक सुझाव दिनुपर्ने बताए। आफ्नो पालामा शिलान्यास भएको भवनको उद्घाटन गरिएकोमा खुसी व्यक्त गरे । नगरपालिका पूर्वाधारयुक्त भइसकेकाले नागरिकले सामाजिक सञ्जालमा गुनासो गर्नेभन्दा कार्यालयमा आएर आफ्ना भनाई राख्नुपर्ने उनले बताए । नगरपालिकाका सेवा सुधार र सर्भिस प्रवाह प्रभावकारी तुल्याउन स्थानीय बासिन्दाले पनि सकारातमक भूमिका खेल्नुपर्ने बताए ।
उद्योगी व्यवसायीका प्रतिनिधिहरू सचिन रोक्का र दिलीप कान्दुले नयाँ भवनसँगै प्रशासनिक सहजता हुने विश्वास व्यक्त गर्दै पुरानो भवनलाई पार्किङका लागि उपयोग गर्न सुझाव दिए ।
यस्तै, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले फोहोर व्यवस्थापन र नगरको सौन्दर्यकरणमा ध्यान दिन आग्रह गरे । साहित्यकार विजय गोविन्द श्रेष्ठले ऐतिहासिक सिद्धार्थ ज्ञान मन्दिर पुस्तकालयको संरक्षणमा नगरपालिकाले विशेष चासो दिनुपर्ने बताए । नगर प्रवक्ता मुक्तिनाथ यादव भोलाले अबका दिनमा सम्पूर्ण काम कारबाही पारदर्शी हुने र जनताका काममा कुनै पनि ढिलासुस्ती हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।