क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका उनले बताए ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उनले सुनाए ।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ । पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ । महासंघको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।
येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार प्रत्येक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । क्रिसमसको कथा आजभन्दा करिब २ हजार बर्षअघिको हो । बाइबलमा उल्लेख भए अनुसार त्यसबेला रोम शासन थियो । रोम शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए ।
जुन दिन जिससको जन्म हुनेवाला थियो । त्यसबेला म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए । त्यसबेला बेथलेहम निकै भिड हुन्थ्यो । उनीहरुले बस्ने ठाउँ पाएनन् । त्यसैले त्यस रातका लागि घोडाको तबलामा बसे । त्यही जिससको जन्म भयो । यहि कथालाई आधार मानेर क्रिसमस डे मनाइन्छ ।
क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् । यसबेला घर घरमा क्रिसमस ट्रि सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता विधीहरु गरिन्छ ।के पनि भनाई छ भने, शान्त क्लज (जसलाई क्रिसमसको पिता भनिन्छ)यसबेला हरेकको ढोकामा आउँछन् ।
त्यही कारण पनि घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्रि, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्टभूमीमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।
क्रिसमससँग जोडिएको रोचक कथा पश्चिमा समाजमा प्रचलित छ, खासगरी बच्चाहरुका निम्ति । भनिन्छ, शान्त क्लजले आकासमा बसेर बच्चाहरुले गर्ने गतिविधि नियालीरहेको हुन्छ ।
बच्चाले के राम्रो गरेको छ, के नराम्रो गरेको छ, सबै लेखाजोखा गर्छ । अनि सुनको मृगले तानेको रथमा चढेर आकाशको बाटो हुँदै हरेकेका घरघरमा आउँछ । राम्रो काम गर्ने बच्चाका लागि खास उपहार लिएर छाडिदिन्छ ।
संभवत धर्मको माध्यामबाट बच्चाहरुलाई सत्मार्गमा लाग्नका लागि प्रेरित गरिएको हो । क्रिसमसले विश्व अर्थतन्त्रमै प्रभाव पार्छ । बजारको ग्राफ एकाएक आकासिन्छ । पसलमा नयाँ नयाँ सामग्री, खाद्यन्न, लताकपडा, सजावटको सामाग्री, उपहारको खरिद बिक्री हुने गर्छ । अमेरिकामा क्रिसमसको लागि किनमेलको मौसम नै मानिन्छ ।
सो दिनलाई ब्ल्याक फ्राइडे पनि भनिन्छ । यो दिन थ्यांक्स गिभिङसम्म आएर समापन हुन्छ । मनोरञ्जनदेखि ठूल(ठूला उद्योगले आफ्नो उत्पादनका लागि विशेष मौकाको रुपमा क्रिसमसलाई उपयोग गर्ने गरेका छन् ।
को हुन् सान्टा क्लस
सन् २८० मा टर्कीमा जन्मिएका सेन्ट निकोलस नामक ईसाई भिक्षु आफ्नो उदारताका लागि निकै लोकप्रिय थिए । आफ्नो सबै सम्पत्ति दान गरेर गरिब, रोगी तथा बालबालिकाको मद्दतका लागि गाउँगाउँ चहार्थे । उनले महिलाहरुलाई दासत्वबाट मुक्त गराएको पनि बताइन्छ ।
विस्तारै उनको उदारताको उदाहरण यूरोप, अमेरिकातिर पनि फैलियो । डच भाषामा उनलाई सिन्टर क्लास भनेर बोलाइन्थ्यो । यही नामको अपभ्रंस भएर ‘सान्टा क्लस’ भन्न थालिएको हो ।
अहिले पनि सान्टा क्लसलाई दानी, उदार र सफा हृदय भएको पात्रका रुपमा चिनिन्छ । बालबालिकाहरु सान्टा क्लसलाई खुब मन पराउँछन् । रातो सुट र टोपी लगाएको मोटोघाटो, सेताम्मे कपाल र दारीजुँगा भएको सान्टा क्लसले आफ्नो धोक्रोमा क्रिसमस गिफ्ट बोकेर ल्याउने र सबैको घरघरमा बाँड्दै हिँड्ने चलन रहिआएको छ ।
क्रिसमस ट्री र माेजाको साङ्केतिक अर्थ
क्रिसमसमा ‘क्रिसमस ट्री’ अनिवार्य छ । यस दिन प्राकृतिक या कृत्रिम रुखलाई घरको बैठक कोठामा राखेर साजसज्जा गरिने चलन छ । रुख राख्ने चलन प्राचीन रोमन सभ्यतादेखि नै चलिआएको विश्वास छ ।
सदावहार रहिरहने यस किसिमको रुखले वसन्त ऋतुलाई सङ्केत गर्दछ । मध्य जाडो याममा यस्तो रुख राख्नुले वसन्त ऋतु फर्किन्छ भन्ने आशावादी सोच झल्काउँछ ।
क्रिसमसका दिन घरको चिम्नी नजिकै मोजा झुण्ड्याउने चलन छ । सुन्दा अचम्म लाग्ने यो चलन खासमा संयोगवश शुरु भएको हो । किंवदन्ती के छ भने, एक गरिब व्यक्तिसँग आफ्ना ३ छोरीको विवाहमा दाइजो दिनका लागि पर्याप्त पैसा नै थिएन । यो कुरा थाहा पाएर एकरात सेन्ट निकोलसले उनीहरुको चिम्नी नजिकै सुकाइएको मोजामा सुनको सिक्काले भरिएको पोको राखिदिएका थिए । सो दिनदेखि चिम्नी नजिकै मोजा सुकाउने चलन रहन गयो ।
क्रिसमस माला र ‘क्राइस्ट’को ताज
हामीले देखिरहेको गोलो क्रिसमस मालाले खासमा जिजस क्राइस्टलाई मृत्युदण्ड दिइँदा उनले लगाएको ताजलाई जनाउँछ । उनको ताज काँडाहरुले बनेको जस्तो देखिन्थ्यो । ठीक त्यही आकार यस मालाको पनि रहेको छ । र, मालामा उनिएका ससाना राता फलहरुले क्राइस्टले बगाएको रगतलाई प्रतिबिम्बित गर्दछन् ।
हरेक वर्ष क्रिसमसका वेला हुलाकमा बालबालिकाहरुले सान्टा क्लसका लागि लेखेका चिठीहरुको ओइरो लाग्ने गरेको छ । छोराछोरीहरुले सान्टा क्लसको उत्तर किन आएन भन्दै अभिभावकलाई दिक्क लगाउँछन् भने चिन्ता नलिनुस् क्यानाडाले सान्टा क्लसको नाममा छुट्टै हुलाकी कोड पनि प्रदान गरेको छ । बालबालिकाहरुलाई निराश नबनाउनका लागि क्यानाडाको हुलाकी सेवाले उनीहरुको चिठीको उत्तर पनि आफै लेखेर सान्टा क्लसको ठेगानाबाट पठाउने गरेको छ ।