भैरहवा। युएनएफपिए, युएपिपिडि र युवा परिषद लुम्बिनी प्रदेशको सयुक्त आयोजनामा आयोजित ‘नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद कार्यक्रम’ नयाँ पुस्ताले आफ्ना सोच, चुनौती र बदलिँदो आकांक्षा सशक्त रूपमा अभिव्यक्त गर्ने उदाउँदो मञ्च बनेकाे छ । कार्यक्रममा १८ देखि ३५ वर्ष उमेर समूहका विद्यार्थी, सामाजिक अभियन्ता र विभिन्न जिल्लाबाट आएका युवाहरूले देश, नेतृत्व र भविष्यप्रतिको आफ्नो दृष्टि खुलेर राखेका छन्।
युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले हालैका युवा आन्दोलनहरूले सिकाइका साथ क्षति पनि धेरै गरेको उल्लेख गर्दै युवालाई हरेक क्षेत्रमा अग्रसर हुनुपर्ने बताए। उनले भने, “जेनजि आन्दोलनमा हामीले धेरै कुरा गुमायौँ। देश पछाडि धकेलियो। अब युवाहरूले हरेक क्षेत्रमा नेतृत्व लिएर अघि बढ्नैपर्ने अवस्था छ।”
कार्यक्रमका अध्यक्ष तथा लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिकी सदस्य रिया बस्नेतले युवाहरूलाई आत्मविश्लेषण गर्न प्रेरित गर्दै भनिन्, “हामीले देशलाई के दिन सक्छौँ त भनेर हामी आफैंलाई प्रश्न गरौँ। जब हामीले त्यो प्रश्नको जवाफ खोज्न थाल्छौँ, तब हामी देशमै बस्न सक्ने आधार र समृद्ध राष्ट्र निर्माणको बाटो देखिन्छ। अबको नेतृत्व र प्रतिनिधित्व गर्ने पुस्ता हामी नै हौँ, त्यसैले ऐन–कानुनदेखि संविधानसम्मका सुधारमा हाम्रो आवाज छुटिनु हुँदैन।”
कार्यक्रममा युवा विद्यार्थी र सामाजिक अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। उनीहरूले देश छाडेर बाहिर जानुपर्ने बाध्यता, नीतिगत स्तरमा युवाको आवाज कमजोर हुनु, तथा कार्यान्वयन तहमा अवसर नपाउनुजस्ता विषयहरू तीव्र रूपमा उठाए। सहभागीहरू कपिलवस्तु, नवलपरासी, रुपन्देही र रोल्पा लगायत स्थानबाट आएका थिए, र उनीहरूको साझा निष्कर्ष थियो—युवालाई वास्तविक नेतृत्व र जिम्मेवारी नदिएसम्म देशले अपेक्षित उचाइ छोएन।
समग्रमा, कार्यक्रमले जेनजि को चेतना र परिवर्तनप्रतिको इच्छा स्पष्ट देखायो। नयाँ पुस्ताले अब केवल आलोचनामा सीमित नबसिकन आफ्नो भूमिकालाई सक्रिय नेतृत्वमा रूपान्तरण गर्ने तयारी गरिरहेको सन्देश यस संवादबाट झनै बलियो रूपमा बाहिर आयो।