२५ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले शपथ लिएका छन । सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट १८ जना नयाँ सांसद चुनिएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।
जसअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो । रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ ।
माघ ११ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले तालमेल भएको थियो । सोही तालमेलअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भएका छन् ।
मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए ।
बागमती प्रदेशबाट गीता देवकोटा र डा। प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका थिए ।
यसैगरी कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए ।
एक जना राष्ट्रपतिबाट मनोनित सांसद थिए। उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनीत गर्नेछन ।