बेमौसमी वर्षाका कारण लुम्बिनी प्रदेशमा लगाइएको धानबाली मध्ये १३ करोड ४३ लाख मूल्य बराबरको धानबालीमा पूर्ण क्षति भएको छ । वर्षाले प्रदेशका १२ जिल्ला मध्ये ७ जिल्लाको ८९६ हेक्टरको ३ हजार ८९७।६८ मेट्रिक टन धानबाली पूर्णरुपमा क्षति भएको हो । ३ हजार ४ सय ६३ रुपैयां ८१ पैसा प्रति क्वीन्टल समर्थन मूल्य र ४।३३ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्वका आधारमा यो क्षति भएको प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले जानकारी दिए ।
यो वर्ष लुम्बिनी प्रदेशमा २ लाख ९८ हजार १० हेक्टरमा धान रोपिएकोमा प्रारम्भिकरुपमा संकलन भएको विवरण अनुसार कूल बालीको ०।३० प्रतिशत धान पूर्णरुपमा क्षति भएको अधिकृत गैरेले बताए ।
निर्देशनालयका अनुसार सबैभन्दा बढी रुपन्देहीको २४० हेक्टर र सबैभन्दा कम बर्दियामा ५ हेक्टरको धानबाली पूर्ण क्षति भएको छ । बढी क्षति हुने जिल्ला मध्ये दोस्रोमा गुल्मीको २२२ हेक्टर, तेस्रोमा नवलपरासी पश्चिमको २०१ हेक्टर र चौथोमा कपिलवस्तुको १४४ हेक्टरको धानबाली पूर्णरुपमा क्षति भएको छ ।
यस्तै अर्घाखांचीमा ५३ हेक्टर र पाल्पामा ३२ हेक्टर खेतको धान बालीमा पूर्ण क्षति भएको छ । ‘प्रतिशतमा हेर्दा थोरै भएपनि किसानको व्यक्तिगत धान खेतीको हिसाब गर्दा किसानका लागि यो पनि ठूलै क्षति हो’–निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले भने–‘यो प्रारम्भिक विवरण हो, अब प्रदेशका पालिका र किसान समेतको यकिन तथ्यांक केही दिनमा आउंछ ।’
प्रदेशमा एक लाख ६९ हजार ३ सय १५ हेक्टर अर्थात ५६।८२ प्रतिशत धानबाली विना क्षति थन्काइएको र एक लाख २१ हजार २ सय १५ हेक्टर अर्थात ४०।६७ प्रतिशत धान काट्न बांकी रहेको निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले जानकारी दिए ।
काटेर खेतमा राखेको मध्ये ७ हजार २५० हेक्टर अर्थात २।४३ प्रतिशत धानबाली भिजेको उनले बताए । प्रदेशका दाङ,बांके,रोल्पा,प्युठान र रुकुम पुर्वमा धान बालीमा हालसम्म क्षति नभएको निर्देशनालयले जनाएको छ ।