ग्यास र पेट्रोलियम पदार्थ सञ्चिति नगर्न सिद्धार्थ उद्योग वाणिज्य संघको आग्रह

खबर नागरिक
​भैरहवा, चैत ३ गते । निजि उद्याेगी व्यवसायीहरूकाे साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मध्यपूर्वमा जारी युद्धका कारण सिर्जना भएको विश्व आर्थिक परिस्थितिलाई दृष्टिगत गर्दै बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न र अनावश्यक भण्डारण नगर्न सरोकारवालाहरूलाई आग्रह गरेको छ।

​संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय तनावका कारण नेपालमा समेत पेट्रोलियम पदार्थ र ग्यासको आपूर्तिमा अवरोध पुग्न सक्ने आशंकामा उपभोक्ता र व्यवसायी दुवैमा नकारात्मक असर देखिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ।
संघले  हाल ग्यास आपूर्तिमा केही संकुचन देखिए पनि पेट्रोल, डिजेल र मट्टितेलको आपूर्तिमा तत्कालै कुनै गम्भीर समस्या नरहेको संघले स्पष्ट पारेको छ। ​व्यवसायीलाई निर्देशन गर्दै केही व्यवसायीले बढी नाफा कमाउने लोभमा सामान लुकाएकोबिक्री नगरेको गुनासो आएको भन्दै संघले मौज्दात रहेका वस्तुहरू सहज रूपमा उपभोक्तालाई उपलब्ध गराउन उद्योगी तथा व्यवसायीहरूलाई निर्देशन दिएको छ।
​उपभोक्तालाई अपिलगर्दै संघले मूल्य वृद्धि हुने डरले आवश्यकताभन्दा बढी ग्यास र खाद्यान्न सञ्चिति नगर्न उपभोक्ताहरूलाई समेत आग्रह गरिएको छ। नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा आपूर्ति प्रणालीलाई पारदर्शी बनाउन सरकारले प्रभावकारी अनुगमन र नियन्त्रणका उपायहरू अवलम्बन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

​विज्ञप्तिमा अध्यक्ष नेत्र प्रसाद आचार्यले विषम परिस्थितिमा सेवाभावका साथ सहयोग गर्न र बजारमा अराजकता सिर्जना हुन नदिन सबैमा हार्दिक अपिल गरेका छन।

प्रतिक्रिया