भैरहवा । भैरहवामा आजदेखि ‘सातौं लुम्बिनी महोत्सव–२०८२ सुरु हुदैछ । स्थानीय बजारमा खरिद गरी स्थानीय बजारको प्रबद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) ले महोत्सव आयोजना गरेको हो ।
मंसिर २१ गते सम्म हुने महोत्सवका लागि ३५ वटा उपसमितिले सम्पूर्ण काम गरी भव्यताका साथ मेलाको तयारी गरेको मेला मूल समारोह समितिका संयोजक तथा चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले भने । ‘महोत्सवलाई पूर्ण सफल बनाउन सवै पक्षसँग गरिएको छलफलबाट प्राप्त सुझावलाई समेटेर अघि बढेका छौं ।’ यो मेला विगतको भन्दा धेरै फरक र गुणस्तरीय रहने उनले भने ।
यस वर्षको महोत्सवको आकर्षणमा फिस टनेल, जलपरी, आईफील टावर लगायत बालउद्यानको मनोरञ्जन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको पर्यटकीय आर्थिक पर्यटनको रुपमा विकास गर्ने, परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय, साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन स्वरुप प्रवद्र्धन गर्ने लगायत महोत्वको उद्देश्य रहेको उनले भने ।
महोत्सवमा उद्योगतर्फ १ सय, कृषि २०, पर्यटन ४०, संघसंस्था २०, बैंक बित्तीय १० र व्यापार तर्फका १ सय ६० गरि ३ सय ५० वटा स्टल रहेको छ ।
महोत्सवको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा संविधान सभा सदस्य ईश्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयबाट एकसाथ गराइने छ ।
१ करोड रुपैयाँ अनुमानित लागतमा सञ्चालन हुन गइरहेको महोत्सवमा ५ करोड रुपैयाँको कारोवार हुने र १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
साँस्कृतिक उपसमिति संयोजक तथा संगठनका सल्लाहकार नारायणप्रसाद भण्डारीले स्थानीय कलाकार देखि राष्ट्रिय कलाकार सम्मको प्रस्तुती महोत्सवमा हुने बताए । हामीले बिद्यालय स्तरीय नृत्य तथा कार्यक्रम, प्रदेश स्तरीय नृत्य तथा कार्यक्रम र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने जानकारी दिए । उनका अनुसार महोत्सवमा प्रिती पासवान, एलिना चौहान, दुर्गेश थापा, हेमन्त शर्मा, स्थानेश्वर गौतम लगायतका कलाकारको प्रस्तुती रहने छ ।
लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने, उपभोक्तामुखी क्रियाकलापमा बृद्धि गराइ स्थानीय बस्तुको बजार व्यवस्थापनमा सहयोग पुर्याउने, कृषिलाई बैज्ञानिक तथा व्यवसायीकरण गर्नमा सहयोग पुर्याउने, आधुनिक उपकरण नबिन प्रबिधि र ओैद्योगिक उपकारणका वारेमा उद्यमी तथा व्यवसायीलाई जानकारी गराउने मुख्य उद्देश्य महोत्सवको छ ।