मुनलाइट मा.वि को सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण

खबर नागरिक

भैरहवा । भैरहवा स्थित आईएसओ सर्टिफाइड मुनलाइट आवासीय माध्यमिक विद्यालय ले वार्षिक सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। विद्यालय प्रांगणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले नृत्य, आधुनिक नृत्य, देशभक्ति गीत र जनचेतनामूलक नाटक प्रस्तुत गरेका थिए । 

कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले नेपाली लोकसंस्कृति झल्काउने विभिन्न नृत्य, गीत, नाटक तथा सांस्कृतिक प्रस्तुतिहरू मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

सो अवसरमा शैक्षिक सत्र २०८०/८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा छात्रवृत्तिसहित सम्मान गरिएको थियो। साथै, अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद, हाजिरीजवाफ, वक्तृत्वकला तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य टिकाराम भट्टराईले विद्यालयले विगतका विभिन्न आरोह–अवरोह पार गर्दै गुणस्तरीय शिक्षामा निरन्तर अग्रसर रहेको बताए। 

उनले भने, “हामीले शैक्षिक उत्कृष्टतासँगै नैतिक शिक्षा, अनुशासन र सिर्जनात्मक क्षमताको विकासलाई प्राथमिकतामा राखेका छौं। विद्यार्थीको सर्वाङ्गीण विकास नै हाम्रो मुख्य लक्ष्य हो।” साथै उनले अभिभावकको निरन्तर सहयोग र शिक्षकहरूको समर्पणले विद्यालयलाई सफलताको उचाइमा पुर्‍याएको उल्लेख गरे।

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया